मकवानपुर, साउन १९ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले चार वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ । प्रदेश प्रमुख देवकोटाले सोमबार प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका चार विधेयक प्रमाणित गर्नु भएको हो ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा २०१ को उपधारा (२) अनुसार प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित गर्नु भएको छ । यस्तै संविधानको धारा २०१ को उपधारा (४) अनुसार प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिनुभयो ।












