राष्ट्रपति चयनका लागि आज चुनाव हुँदैछ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचन आयोगले चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।
संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।
विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ ।
राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३१ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् । सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सभा सदस्यको २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।
राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र कायम गरिएको छ । विगतमा जस्तै मुलुकका प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारबीचको प्रतिस्पर्धालाई महत्वकासाथ हेरिएको छ । पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्व अध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बन्नुभएको हो ।