हेटौंडा – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिहीबार हेटौंडा–१०, बसपार्कमा गीति नाटक प्रदर्शन गरिएको छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजना तथा सामुदायिक सेवा उपकेन्द्र बसपार्क, साना हातहरु नेपाल मकवानपुर, माइती नेपाल मकवानपुर र हिमराइटस मकवानपुरको समन्वयमा नाटक प्रदर्शन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य साधना श्रेष्ठको सभाअध्यक्षता एवम् जिल्ला समन्वय समिती मकवानपुरका पुर्व प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा गीति नाटकद्वारा समाजमा हुने विभिन्न कुसंस्कार एवम् विकृतिका कारण हुने लैङ्गिक हिंसा सम्बन्धी विषयवस्तुलाइ गीतीकथा मार्फत प्रस्तुत गरिएको थियो ।

गीति नाटक प्रदर्शन कार्यक्रममा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे तामाङ ,सामुदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्कका अध्यक्ष प्रदिप कडेल, माइती नेपाल कार्यालय संयोजक माया लामा, साना हात नेपाल मकवानपुर शाखाका कार्यालय स्टेसन म्यानेजर डिकम्बल रुपाचा, नारी संरक्षण केन्द्रकी अध्यक्ष दिपा गुरुङ, कोसिसकी सुमिरा लामा, मानव अधिकार संघ मकवानपुरकी अध्यक्ष सर्मिला श्रेष्ठ, भुटनदेवी युवा क्लब अध्यक्ष सविन तामाङ लगयत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको एक्यवद्धता” भन्ने नाराका साथ लैङ्गिक हिंसा रोकथामका लागि मंसिर ९ गते देखि सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मकवानपुरमा विभिन्न संस्थाहरुले विभिन्न सचेतनामुलक कार्यक्रमहरू संचालन गरिरहेका छन् । मंसिर ९ गतेबाट सुरु भएको १६ दिने अभियान २४ गते समापन हुने छ ।