मकवानपुर– जिल्ला समन्वय समिती मकवानपुरले स्थापना गरेको ‘कोरोना आपतकालीन कोषमा मकवानपु’ मा यती पेन्ट्स प्रालीले सहयोग गरेको छ । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कम्पनीले जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थापना गरिएको कोषमा आज ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।
आज जिल्ला समन्वय समिति मकवानपुरमा पुगेर यती पेन्ट्सका सांचलक श्रीहरि मासकेले जिसस प्रमुख खुलाललाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रणका लागि कम्पनीले सामाजिक उत्तरदायीत्व स्वरुप प्रदेश स्तरमा स्थापना भएको कोषमा १ लाख ५१ हजार र जिल्ला स्तरमा स्थापना भएको कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । जिसस प्रमुख खुलाललाई सहयोग रकम हस्तान्तरण गर्दै संचालक मास्केले सामाजिक उत्तरदायित्व स्वरुप कम्पनीका तर्फबाट जिल्लाका स्थानीय तहहरुमा सजिलै राहत पुग्ने माध्यम जिल्ला समन्वय समितिमा सहयोग गरेको बताउनुभयो ।
चेक रकम बुझ्दै प्रमुख खुलालले बिश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणका लागि जिल्लाबासीका लागि सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले महामारीसंग जुध्न सबैको सहयोग आवश्यक रहेकाले सक्दो सहयोगका लागि आग्रह समेत गर्नुभयो । आपत्तीका बेलामा सबै एकजुट भएर लाग्नु पर्ने प्रमुख खुलालले बताउनुभयो । कम्पनीले आजै बागमती प्रदेशको कोरोना सङ्क्रमण रोकथाम कोषमा समेत १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई संचालक मास्केले चेक रकम हस्तान्तरण गर्नुभएको हो ।