हेटौंडा– बागमती प्रदेशको राजधानीसमेत रहको हेटौंडा उपमहानगरपालिकाले फुटबलका खेलाडी उत्पादनको लक्ष्य सहित एकेडेमी सञ्चालन गर्ने तयारी थालेको छ । फुटबलका लागि उर्वर भूमिको रुपमा रहेको हेटौंडाबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यसहित खेलको बिकास र प्रवद्धनका लागि उपमहानगरपालिकाले खेलाडी उत्पादनलाई प्राथमिकतामा राख्दै काम अघि बढाएको हो ।
जिल्लामा सञ्चालन हुने प्रतियोगिता र राष्ट्रिय स्तरका खेलमा हेटौंडाको उत्पादनलाई समावेश गराउँर्दै नगरको नामलाई थप प्रभाबकारी बनाउने उद्देश्य सहित उपमहानगरपालिकाले खेलाडी उत्पादनलाई प्राथमिकतामा राख्दै ‘हेटांैडा उपमहानगरपालिका फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन कार्यविधी–२०७९’ स्विकृत गरेको छ । कार्यबिधी स्विकृतीसँगै नगरमा खेलाडी उत्पादनकालागि एकेडेमी सञ्चालनको बाटो खुलेको छ ।
स्थानिय तहबाटै खेलाडी उत्पादनलाई प्राथमिकता दिदै हेटौंडा उपमहानगरपालिकाको १३ औं कार्यपालिका बैठकले कार्यविधी स्विकृत गरेको हो । कार्यबिधी अनुसार उपमहानगरको १९ वटै वडामा रहेका १२ देखी १४ वर्ष उमेर समुहका महिला तथा पुरुष खेलाडी मध्ये अव्वललाई छनौंट गरी एकेडेमीमा राखेर खेल कौशललाई थप निखारता दिइने बताइएको छ ।
पारीत कार्यविधी अनुसार उपमहानगर क्षेत्रका हरेक वडाबाट १÷१ जना महिला तथा पुरुष र यसै क्षेत्रका अव्वल खेलाडी सहित ४५ जनालाई ‘क्लोज क्याम्प’ मा राखेर नियमित प्रशिक्षण सहित आवास, खानपान, शिक्षा र स्वास्थ्यउपचार सुबिधा सहित एकेडेमी सञ्चालन गरीने बताईएको छ । आवासिय सुविधा सहित प्रशिक्षण गराउनकालागि उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷०८० का लागि ७५ लाख रुपियाँ रकम बिनियोजन गरेको छ ।











