हेटौंडा । बागमती प्रदेश खेलकुद परिषदले दोस्रो संस्कणको बृहत प्रदेश खेलकुद चैत अन्तिम साता आयोजना गर्ने भएको छ । दोस्रो संस्कणको बृहत प्रदेश खेलकुद चैत २४ देखि ३० गतेसम्म आयोजना हुने प्रदेश खेलकुद परिषदले जनाएको छ ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार परिषद बोर्ड बैठकमा विज्ञहरुसमेतको राय लिएर प्रदेश खेलकुदको मिति निर्धारण गरिएको हो । सदस्यसचिव भण्डारीले यो पटक पहिलो संस्करणको तुलनामा समावेश खेल संख्या पनि बढाइएको छ । दोस्रो संस्करणका लागि उसु, जुडो, आईटीएफ तेक्वान्दो र पौडी छन् । पौडीको जिल्लागत प्रतिस्पर्धा नगराइ सिधै प्रतियोगितामा खुला स्पर्धा गराइने उहाँले बताउनुभयो । अघिल्लो वर्ष फागुन २८ गतेदेखि १० दिनसम्म सञ्चालित प्रतियोगितामा ८ खेल समावेश भएका थिए । त्यतिबेला खेलाइएको तेक्वान्दो, एथलेटिक्स, कराँते, बक्सिङ, फुटबल, क्रिकेट, ब्याडमिन्टन र भलिबललाई यसपल्ट पनि निरन्तरता दिइएको उहाँँले बताउनुभयो ।
परिषद बैठकले गत असोज÷कात्तिकमा गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुदका पदक विजेता बागमती प्रदेशका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय समेत गरेको छ । यस्तै बागतमी प्रदेशले सरकारी ग्रासरुट कार्यक्रम राष्ट्रपति रनिङ शिल्डको केन्द्रीय प्रतियोगिता हुने १५ दिन अघि नै प्रदेश छनोट सम्पन्न गरिसक्ने निर्णय गरेको उहाँले बताउनुभयो । परिषद बैठकले राष्ट्रपति रानिङ शिल्डको स्थानीय र जिल्लास्तरीय प्रतियोगितामा सबै विद्यालयको सहभागिता गराउने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो ।