मकवानपुर । बागमती प्रदेशसभाका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण आगामी पुस १३ र १४ गते हुने भएको छ । बागमती प्रदेश प्रदेशसभा सचिवालयद्वारा आज आयोजना गरिएको सर्वदलीय बैठकले पुस १३ गते ज्येष्ठ सदस्यको र १४ गते बाँकी अन्य सदस्यहरुको सपथ ग्रहणको मिति तय गरेको हो ।
बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानालाई यही पुस १३ गते दिनको २ बजे शपथ गराउने गरी कार्यसूची राखेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले बताउनुभयो । भने, पुस १४ गते दिनको २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य ढुङ्गानाले बागमती प्रदेशसभाका एक सय नौ जना सदस्यलाई प्रदेशसभाको सभाकक्षमा शपथ गराउनु हुनेछ । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था रहेको छ । सोहीअनुसार नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेशसभामा निर्वाचित ढुङ्गानाले प्रदेशसभाको आगामी अधिवेशनको बैठक सञ्चालन र्गनु हुनेछ । निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार उहाँ ७२ वर्षको हुनु हुन्छ । उहाँको जन्म २००६ साल असोज २ गते भएको हो । सपथग्रहणका लागि प्रदेशसभा सचिवालयले सबै तयारी पुरा गरेको जनाएको छ ।
त्यस्तै बैठकले यही पुस १७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आह्वान गर्न बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयलाई आग्रह गर्ने सर्वसम्मतिले निर्णय गरेको छ । सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्यको सहभागिता रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।