मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजिनामा दिनुभएकाे छ । पाण्डेले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष आज राजिनामा दिनु भएकाे हाे ।
विहीबार संघीय सांसदको शपथ लिएसँगै उहाँको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उहाँले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएकाे हाे । शुक्रबार कानुनविद् र प्रदेश प्रमुख यादबचन्द्र शर्मासँग लामो समयको छलफलपश्चात् उहाँले राजीनामा दिनु भएकाे हाे ।
मुख्यमन्त्री पाण्डेले पेश गर्नुभएको राजीनामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानबमोजिम आजै स्वीकृत गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्नु भएपनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन तोक्नुभएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएकाे छ । पाण्डेले २०७८ कार्तिक ११ गतेदेखि प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नु भएकाे थियाे । उहाँ गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभई बिहीबार मात्र मात्रै प्रतिनिधिसभा सदस्यको शपथ लिनुभएको थियो ।