काठमाडौँ – कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ । महामारीका कारण समस्यामा परेका ऋणीलाई बैङ्क तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई कुनै पनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले आज एक निर्देशन जारी गर्दै महामारीको समयमा कुनै पनि ऋणीलाई ऋण तिर्न दबाब नदिन तथा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको सात दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन स्पष्टसँग निर्देशन दिएको छ ।
ऋणीलाई कुनै पनि कर्जामा जरिवाना लगाउन नपाउने, लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था केन्द्रीय बैङ्कले गरेको छ । त्यस्तै बैङ्क तथा वित्तीय संस्थाहरूले निक्षेप र कर्जाको ब्याजदरमा परिवर्तन आए तत्काल ग्राहकलाई विद्युतीय माध्यमबाट गराउनुपर्नेछ । यसैगरी लघुवित्त संस्थाबाट कर्जा लिएका ऋणीलाई समेत केन्द्रीय बैङ्कको पछिल्लो व्यवस्थाले राहत दिएको छ । लघुवित्त कम्पनीलाई निषेधाज्ञा सकिएको ७ दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन निर्देश गरेको छ ।
रासस