काठमाण्डौ – नेकपा एमाले केन्द्रिय कमिटीको आज सुरु भएको बैठकलाई सम्बोधन गर्नुहुँदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा हजारौ प्रयासका बाबजुद पनि पार्टीलाई एक हुन नदिने खेल भईरहेको उल्लेख गर्नुहुँदै आफ्नै पार्टीका कतिपय नेताहरु बामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार र आफ्नो सरकार ढालेर विपक्षीको सरकार बनाउन राष्ट्रपतिकहाँ धाउनु लाजमर्दो भएको बताउनुभयो ।
उहाँले अहिले पार्टी र देशमा विभिन्न समस्याहरु देखा परेको, त्यसमाथि राजनीतिक समस्या र दलहरुले फिजाउने अराजकताले थप समस्या सिर्जना गरेको उल्लेख गर्नुभयो प्रधानमन्त्री ओलीले पार्टी अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृति बढ्दै गएको, राजनीतिलाई अदालततिर धकेल्ने र प्रगतिशील शक्तिलाई समाप्त पार्ने प्रयासहरु जारी रहेको बताउनुभयो । उहाँले, आफ्नो कर्तव्य पालना गरिरहनुभएको राष्ट्रपतिमाथि निकृष्ट आक्षेप लगाउने काम भईरहेको पनि उल्लेख गर्नुभयो ।नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विगतमा निर्वाचन आचारसँहिता लागू भईसकेपछि मन्त्रिपरिषद पुनर्गठन भएको नजिर हुँदाहुँदै पनि अहिले अदालतले अग्राधिकार दिएर मन्त्रिहरुलाई पदमुक्त गरिएको र दलले आफ्ना सदस्यहरुलाई कारवाही नै गर्न नपाइने भनिएकोले के हुँदैछ भनेर चनाखो रहन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विपक्षीहरु देशलाई हिंसा र मुडभेडतर्फ लैजान खोजेको उल्लेख गर्दै अहिले कायम रहेको निषेधाज्ञा तोड्नुको पछाडि त्यही कारण रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘केही दलका साथीहरुले विदेशीहरुलाई अहिले भ्याक्सिन नदेउ, हाम्रो सरकार आएपछि दिनु भनेर लबिङ गरिररहेका छन् । तर, अब भ्याक्सिनको समस्या पर्ने छैन पर्सीदेखि चाहिने जति भ्याक्सिन आउँछ, भारतबाट दोस्रो डोज नआएकोले समस्या परेको हो ।’