मकवानपुर – वरिष्ठ संगीतकार दीपक जंगमलाई यस वर्षको विजुली माया वन राष्ट्रिय संगीतकार पुरस्कार प्रदान गरिने भएको छ । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी जंगमलाई १ लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।
प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यले फागुन २८ गते एक समारोहका बीच जंगमलाई पुरस्कार प्रदान गरिने बताउनुभयो । हेटौंडाका व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आमाको नामबाट विजुलीमाया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार स्थापना गर्नुभएको हो ।
विजुलीमाया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट पहिलो पटक २०६४ सालमा अम्बर गुरुङ पुरस्कृत हुनु भएको थियो । त्यसयता प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, न्हुच्छे बहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मोलाई संगीत पुरस्कार प्रदान गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ संगीतकार तुल्सी थापा, मुक्तिगोविन्द वैद्य, शुसिला मानन्धर, उपाध्यक्ष विष्णुगोपाल महर्जन, कोषाध्यक्ष निरा शर्मा, महासचिव केशवलाल श्रेष्ठ, पुरस्कार स्थापना गर्ने समाजसेवी तथा संगीतप्रेमी कन्हैयाकृष्ण श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।