संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) ले रुसले युक्रेनमा गरेको आक्रमणका कारण १४ लाख जना बालबालिका शरणार्थी बनेको जनाएको छ । रुसले आक्रमण सुरु गरेको फेब्रुअरी २४ तारिखयता १४ लाख जना बालबालिकाले युक्रेन छाडेको युनिसेफलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । हिसाब गर्दा युक्रेनबाट हरेक एक सेकेन्डमा एक जना बालबालिकाले देश छाडिरहेको खबरमा उल्लेख छ ।
युनिसेफका प्रवक्ता जेम्स एल्डरले पछिल्ला केही दिन युक्रेनबाट हरेक दिन ७० हजार जना बालबालिकाले देश छाडेको र बालबालिकाका लागि यो सङ्कट दोस्रो विश्व युद्धपछिकै भयावह भएको बताउनुभएको छ । विस्थापित भएका बालबालिका पारिवारिक विछोड, हिंसा, यौन शोषण र बेचबिखनको जोखिममा रहेको भन्दै युनिसेफले चिन्ता पनि व्यक्त गरेको छ । शरणार्थी बनेका बालबालिकालाई सुरक्षा, स्थायित्व र संरक्षणका सेवाको असाध्यै धेरै आवश्यकता रहेको प्रवक्ता एल्डरले बताउनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले अहिलेसम्म युक्रेनबाट ३० लाख जनाभन्दा धेरै मानिस विस्थापित भएका जनाएको छ ।