प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड नियन्त्रणका लागि अग्रपङ्तिमा रहेर काम गरिरहनु भएका व्यक्तित्वहरू, जनस्वास्थ्य विद्हरू तथा अन्य सरोकारवालाहरूसंग सामूहिक छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली सेना, सशस्त्र प्रहरी, तथा नेपाल प्रहरीले सञ्चालन गरेको अस्पतालका प्रमुखहरू, कोभिड–१९ डेडिकेटेड अस्पतालका प्रमुखहरू, जनस्वास्थ्य विद्, अक्सिजन ग्याँस उत्पादन तथा वितरणमा संलग्न व्यवसायी एवं अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ । जनस्वास्थ्य विज्ञ तथा सरोकारवालासँग छलफलका आधारमा आवश्यक कार्य योजना र कार्यनीति तय गर्ने तयारी प्रधानमन्त्रीले गर्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिनुभयो । कोभिड सङ्क्रमितहरूको उपचारका लागि अस्पतालमा शय्या तथा अक्सिजन सिलिन्डर नपाएको गुनासो बढ्दै गएपछि सरकारले त्यसमा केन्द्रित भएर काम गर्ने तयारी गरेको छ । छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।