नेपालमा कोरोना भाइरसबाट आज थप ८ हजार १ सय ६७ जना संक्रमित भएका छन् । आज १७ हजार ९ सय ७१ नमुनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४६ जना तथा ५ सय ७७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप १ सय ८७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । यसमा आज मृत्यु भएका तथा नेपाली सेनाले विभिन्न समयमा व्यवस्थापन गरेको शवको सङ्ख्या समेत जोडिएको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको शव व्यवस्थापनको काम नेपाली सेनाले गर्दै आएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कूल सङ्ख्या ४ हजार ८ सय ५६ पुगेको छ । यस्तै आज थप ५ हजार ४ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मुक्त हुने दर ७४ दशमलव ४ प्रतिशत रहेको र देशभरमा गरी जम्मा १ लाख ९ हजार ७ सय ४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।