मकवानपुर – मातृभूमि साहित्य समाज मकवानपुरले संगीतकार शक्ति बल्लभसहित एकसाथ ६ जनालाई सम्मान गरेको छ । शनिबार हेटौंडामा एक समारोहका बीच संगीगकार शक्ति बल्लभ, पुरातत्वविद् बसन्त विडारी, साहित्यकार सीताराम अधिकारी, नाटककार उज्ज्वल शर्मा भण्डारी, अधिकारकर्मी सरस्वती बर्तौला र बाल कलाकार जेनिश उप्रेतीलाई एउटै मञ्चमा सम्मान गरिएको हो ।
साहित्य समाजले २० हजार राशीको नित्यगोविन्द स्मृति संगीत पुरस्कार–२०७८ बाट शक्ति बल्लभलाई सम्मन गरेको हो । यस्तै १५ हजार राशीको क्षेत्रबहादुर स्मृति सम्मान–२०७८ बाट बसन्त विडारी, ११ हजार राशीको होमनाथ–बलदेवी मातृभूमि छन्द साहित्य सम्मान–२०७८ बाट गोरखाका सीताराम अधिकारी, १५ हजार राशीको राजकुमार स्मृति माृतभूमि सम्मानबाट उज्ज्वल शर्मा भण्डारी, १० हजार राशीको मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान–२०७८ बाट सरस्वती बर्तौला र मंगलादेवी श्रेष्ठ स्मृति मातृभूमि बाल सम्मान–२०७८ बाट द भ्वाइस अफ किडका विजेता गायक जेनिश उप्रेतीलाई सम्मान गरेको हो ।
विभिन्न व्यक्तिले आफ्ना परिवारका सदस्यको स्मृतिमा पुरस्कार तथा सम्मान प्रदान गरेको हो । मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एवम् पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यमा सम्मान भएको कार्यक्रममा साहित्यकारहरुले रचना वाचन समेत गरेका थिए ।