हेटौंडा – आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि नेकपा एमालले भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा बर्तमान अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई उमेदवार बनाउने निर्णय गरेको छ । भीमफेदी एमाले गाउँ कमिटी बैठकले गाउँपालिकाको अध्यक्षमा बर्तमान गाउँपालिकाका अध्यक्ष लामा तथा उपाध्यक्षमा वर्तमान उपाध्यक्ष रानालाई नै उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
२०७४ मा भएको स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबैमा एमालेका उम्मेद्वार लामा र राना विजयी भएका थिए । २०७४ मा भएको स्थानीय निर्वाचनमा एमालेबाट उठेका लामाले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी र नेपाली कांग्रेसको गठबन्धनका उम्मेद्वार रन्जित कुमार रानालाई १४४ मत अन्तरले पराजित गरेका थिए । अध्यक्ष पदमा एमालेका उम्मेद्वार लामाले ३ हजार ८४२ मत प्राप्त गर्दा गठबन्धनका उम्मेद्वार रानाले ३ हजार ६९८ मत प्राप्त गरेका थिए ।
यसैगरि उपाध्यक्ष पदमा रानाले गठबन्धनको उम्मेद्वार मोमलाल दोङलाई ३ सय ६७ मत अन्तरले पराजित गरिकी थिईन् । एमालेबाट उठेकी रानाले ३ हजार ८०२ मत पाउँदा नेपाली कांग्रेसबाट उठेका दोङले ३ हजार ४३५ मत प्राप्त गरेका थिए ।