मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले वन क्षेत्रको रेखदेख र संरक्षण गर्नुका साथै यसको उपभोग गर्नु उपभोक्ताको दायित्व भएको बताउनुभयो । शनिबार हेटौंडा–९, स्थित वेतखोल्सी सामुदायिक वन उपभोक्ता समूहको २१औं वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै उहाँले वन क्षेत्रको संरक्षण गरी उपभोग गर्नुपर्ने बताउनुभयो ।
सामुदायिक वनको संरक्षण र उपभोगमा समुदायले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो । उहाँले वन संरक्षणमा उपभोक्ताले चासो र जिम्मेवारी राख्नुपर्ने भन्दै पुराना रुखको उपयोग गर्नुपर्ने र पुराना रुख काटिएको ठाउँमा नयाँ रुखहरु रोपेर वनको संरक्षण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सामुदायिक वन उपभोक्त महासंघकी केन्द्रिय अध्यक्ष भारती पाठकले संघीय लोकतान्त्रिक गणतन्त्रीक व्यवस्थाले सबैभन्दा ठूलो प्रहार सामुदायिक वनमाथि भएको बताउनुभयो ।
कार्यक्रममा समूहको वार्षिक गतिविधिको बारेमा समुहका अध्यक्ष बासुदेव प्याकुरेलले र आर्थिक गतिविधिका बारेमा लेखा समिति संयोजक जयराम खतिवडाले जानकारी गराउनुभएको थियो । अध्यक्ष प्याकुरेलले समूहमा २ सय ६५ घरधुरी सदस्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ७ सय उपभोक्ता प्रत्यक्ष वनसँग जोडिएका छन् । सामुदायिक वन ३५ दशमलब ९७ हेक्टर क्षेत्रफलमा फैलिएको उहाँले जानकारी दिनुभयो । यस्तै, समूहमा ३२ लाख ५६ हजार रुपैयाँ बराबरको आयव्यय रहेको जानकारी गराईएको छ ।
समूहका अध्यक्ष प्याकुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक दिलानाथ नेपाल र पुष्पाञ्जली आमा गस्ति समूहलाई सम्मान गरिएको छ । कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण भण्डारी, डिभिजन वन कार्यालय हेटौंडाका वन अधिकृत दिपक अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडा नगर अध्यक्ष शम्भु न्यौपाने, समुहका संस्थापक अध्यक्ष रामचन्द्र अर्याललगायतको उपस्थिति थियो ।