हेटाैंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा(एमाले) बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलियाले कर्मचारीको काम अनुसार मूल्याङ्कन गरिने बताउनुभएको छ । मन्त्रालयका कर्मचारीहरुसँग भएको परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थपलियाले जनप्रतिनिधि र कर्मचारीको उद्देश्य एउटै रहेको प्रष्ट पार्नुभयो ।
“फरक फरक पाटोबाट आएपनि हाम्रो मुख्य उद्देश्य जनताको सेवा गर्नु नै हो, हामीले जनताले गुनासो गर्ने गरी काम गर्नुहुन्न” उहाँले भन्नुभयो । महत्वपूर्ण काम भएमा अतिरिक्त समयमा पनि कार्यालयमा उपस्थित हुनुपर्ने भन्दै थप कामको थप सुविधा प्रदान हुने जानकारी दिनुभयो । यसतर्फ सबैले इमान्दारिता देखाउनुपर्ने बताउदै जनप्रतिनिधि र कर्मचारी दुबैले दायित्व पूरा गर्न, समन्वय गर्न समूहगतकार्य गर्दै उपलब्धी निकाल्न सक्ने दक्षता प्रयोग गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्रालयमा हुनेगरेका काम र सम्पन्न भएका गतिविधिका बारेमा मन्त्री थपलियाले जानकारी लिनुभएको थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव महेश आचार्यले दरबन्दी अनुसार कर्मचारीको परिपूर्ति नभएको जानकारी गराउनुभयो । मन्त्रालयमा उपसचिव, अधिकृत, नासु तहका कर्मचारीको अभाव रहेकोले समयमा काम सम्पन्न गराउन समस्या हुने गरेको उहाँले जानकारी गराउनुभयो । मन्त्री थपलियाले अपुग दरबन्दीलाई परिपूर्ति गर्न आवश्यक समन्वय गर्ने जानकारी गराउदै सबैले जनताको अपेक्षा अनुसार काम गर्न इमान्दार प्रयत्न हरदम गर्नुपर्ने बताउनुभयो ।