मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्मकट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा १०५ सांसदको मतसहित विश्वासको मत प्राप्त गर्नु भएको हो ।
प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेश गर्नु भएको थियो । सो प्रस्तावमा छलफल पछि भएको मतदान प्रक्रियाबाट उहाँले विश्वासको मत प्राप्त गर्नु भएको हो । नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएका जम्कट्टेललाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ ।
मुख्यमन्त्री शालिकराज जम्मकट्टेलले बागमती प्रदेशमा सबै भन्दा ठुलो दल नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १२, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसद गरि १०५ सांसदको मत पाउनु भएको छ ।
११० सदस्य बागमती प्रदेश सभामा मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा १०५ सांसदले मत दिनु भएको थियो, भने, उहाँको विपक्षमा ३ जना सांसदले मत दिनुभयो । प्रदेश सभामा १ जना सांसद अनुपस्थित रहनु भएको थियो । उहाँको विपक्षमा नेमकिपाका ३ जना सांसदले मतदान गर्नु भएको छ । पाँच दलको ७० सांसदको समर्थनमा गत पुस २५ गते जम्कट्टेल मुख्यमन्त्री बन्नु भएको थियो ।