मकवानपुर । निजी विद्यालय भन्ने वित्तिकै बिशेष त नाफा कमाउन मात्र खोलिएको भन्ने आम नागरिकको धारणा हुन्छ । तर, सबै निजी विद्यालयहरु त्यस्ता हुँदैनन् भन्ने उदाहरण पनि छन् । यस्तै उदाहरणका रुपमा हेटौंडा ९ स्थित श्रीकृष्ण आदर्श ईङ्लिस बोर्डिङ प्रस्तुत गर्न सकिन्छ ।
विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तर मात्र नभई समुदाय प्रतिको सामाजिक उत्तरदायित्व समेत बहन गरेको छ । शैक्षिक सुधारका लागि विद्यार्थीको स्वास्थ्य सुधार हुनु पर्छ भन्ने मान्यता विद्यालयले अवलम्बन गरेको छ । विद्यालयले हरेक महिना विभिन्न स्वास्थय शिवीर सञ्चालन गरेर विद्यार्थीको मात्र नभई विद्यार्थीका अभिभावक र समुदायका अन्य व्यक्तिको समेत स्वास्थय पक्षिण गर्ने गरेको छ ।
“शिक्षामा गुणात्मक सुधार ल्याउन अपरिहार्य भइसकेको छ, र शिक्षामा सुधार ल्याउन विद्यार्थीको स्वास्थ्यमा सुधार हुनुपर्छ, त्यसका लागि विद्यार्थीका अभिभावक पनि स्वस्थ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । यसै अपरिहार्यतालाई मध्यनजर राखी हामीले केहि योजनाहरु कार्यान्यवनमा ल्याएका छौं, जसमध्येको एउटा मासिक स्वास्थ्य शिवीर हो ।” विद्यालयका प्रिनसीपल नविन केसीले भन्नुभयो ।
“विद्यार्थीको स्वास्थयसंगै उनिहरुलाई सामाजिकीकरण गर्ने, प्राविधिक दक्षता र नेतृत्व तथा व्यक्तित्व विकास, कार्यकुशलतालगायत विषयमा अभिवृद्धि हुने गरि काम गरेका छौं । “ उहाँले भन्न्ुभयो । विद्यालय, समाजको आवश्यकता पूरा गर्न स्थापित संस्था हो र विद्यालयको आधार पनि समाज नै भएकोले विद्यालयको समाजसँग सुमधुर सम्बन्ध बनाई राख्न पनि सामाजिक काममा समेत अग्रसरता देखाएको उहाँको भनाई छ ।
विद्यालयले शुक्रबार मात्र विद्यालयका अभिभावक र स्थानीय महिलाहरुको पाठेघरको मुखको निशुल्क परीक्षण गराएको छ । शुक्रबार विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा स्थानीय ७४ जना महिलाले सेवा लिएका छन् । जाँच गरिएकामध्ये ३१ जनामा सामान्य समस्या देखिएकोमा उनीहरुलाई निशुल्क औषधिसमेत वितरण गरिएको विद्यालयले जनाएको छ । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा विद्यालयमा निशुल्क शिविरको आयोजना गरिएको केसीले जानकारी दिनुभयो ।
विद्यार्थीको स्वास्थ्यलाई मध्येनजर गर्दै विद्यालयमा हरेक महिना विभिन्न स्वास्थ्य सम्बन्धी शिविरको आयोजना गर्ने कार्यतालिकामध्ये यस अघि आँखा शिविर आयोजना गरिएको थियो । भने, यस पटक पाठेघरको जाँच सम्बन्धी शिविर आयोजना गरिएको उहाँले बताउनुभयो । साथै नियमित स्वास्थ्य परीक्षणअन्तर्गत आगामी माघ १५ गते विद्यार्थी, अभिभावक र स्थानीयका लागि लागि निशुल्क दन्त परिक्षण शिविरको आयोजना गरिने केसीले बताउनुभएको छ ।