हेटौंडा – आसन्न स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेले चुनावी प्रचार प्रसारको काम तिब्र बनाएको छ । हेटौंडा–४ मा नेकपा एमालेको वडा कमिटीले भोली आइतबारदेखि नै चुनावको प्रचार प्रसार अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु गर्ने भएको हाे ।
हेटौंडा उपमहानगरपालिकाबाट अधिकांश वडाहरुबाट सिफारिस भएर आएका एमालेका उम्मेदवारहरुको नाम टुङ्गो लाग्न बाँकी रहँदा सर्वसम्मत उम्मेदवार टुङ्गो लगाएको हेटौंडा–४ मा भने चुनावी प्रचार गर्न थालिएको हो । नेकपा एमालेबाट हेटौंडा–४ का वडा अध्यक्षका उम्मेदवार तथा हालका समेत वडा अध्यक्ष नविन सिग्देलले आइतबार बिहान ७ बजे कर्रा चोकमा जम्मा भएर घरदैलो कार्यक्रम सुरु गर्ने जानकारी दिनुभयो । शनिबार हेटौंडा–४ मा भएको एमालेको वडा स्तरिय कार्यकर्ता भेला तथा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एमलाल श्रेष्ठले वडा तहबाट सर्वसम्मत नाम सिफारिस भएका उम्मेदवारहरुको नाम परिवर्तन नहुँने भएकाले सर्वसम्मत हुनुभएकाहरुले चुनावी प्रचारको अभियानमा होमिन निर्देशन दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले हामीले हाम्रो समाजलाई इन्द्रेणी जस्तै बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ । वडा स्तरबाट नै इन्द्रेणीका रंगहरु झैं सबै नागरिक सुखी, खुसी, समृद्ध तथा आधारभूत आवश्यकताहरु पूरा हुनेगरी काम गर्न सक्षम नेतृत्वलाई जनताले रुचाउने उहाँको भनाई रहेको छ । उहाँले जेष्ठ नागरिकलाई सम्मान, साना बालबालिकालाई उचित स्नेह, रोजगारी, स्वास्थ्य, शिक्षा, खेलकुुद लगायतका क्षेत्रमा सबैको हित हुनेगरी काम गर्न एमालेको सरकार र एमालेका प्रतिनिधीहरुले मात्र सक्ने दाबी गर्नुभयो ।
उहाँले आगामी निर्वाचनमा हेटौंडा नगरमा विजयी हुने जनप्रतिनिधीहरुले रोजगारीलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको छ । जनप्रतिनिधीहरुले हेटौंडालाई रोजगारीको लागि उचित व्यवस्थापन गरी हेटौंडाबासी मात्र नभई अन्य स्थानका नागरिकहरुलाई पनि हेटौंडामा रोजगारी गरेर आफ्नो जिविकोपार्जन गर्न सक्ने स्थान प्रदान गर्नुपर्ने भनाई व्यक्त गर्नुभयो । हेटौंडा बजारको बुद्धचोकमा हरेक दिन बिहान दैनिक ज्याला मजदुरीका लागि देखिने मानिसहरुको भिडलाई स्मरण गर्नुहुँदै उहाँले केही भावुक भएर भन्नुभयो, ‘उनीहरुले पनि बिहान बेलुकाको छाक टार्नका लागि बिहमन देखि दैनिक मजदुरीकै लागि बुद्ध चोकमा जम्मा हुने मानिसहरुले पनि उचित रोजगारीको अवसर पाउनुपर्छ ।’ इन्चार्ज रानाले हेटौंडाका बासिन्दाले उपमहानगरपालिकाको कार्यालय प्रवेश गर्दा गर्व महसुस गर्न सक्ने र आफ्नो समस्या लिएर नगर प्रमुखको कार्यकक्षसम्म सहजै जानसक्ने बातावरण बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले हेटौंडा–४ वडा कमिटीले ३५१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ । यस्तै कमिटीमा ४१ सदस्यीय सचिवालय निर्माण गरिएको पनि जनाइएको छ । यसैगरी नविन मिश्रको संयोजकत्वमा कार्यालय व्यवस्थापन तथा प्रचार प्रसार उपकमिटी, केशव बासुकलाको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपकमिटी, शिवहरी दाहालको संयोजकत्वमा प्रतिबद्धता लेखन उपकमिटी, प्रकाश सुवेदीको संयोजकत्वमा स्वयम्सेवक परिचालन उपकमिटी तथा भवानी शर्माको संयोजकत्वमा निर्वाचन अनुगमन उपकमिटी निर्माण गरिएको छ । नेकपा एमाले हेटौंडा–४ वडा कमिटीका अध्यक्ष राजेन्द्र बास्ताकोटीको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठ, संविधान सभा सदस्य अनन्त पौडेललगायतकाको आतिथ्यता रहेको थियो ।