file photo

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादीका गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको आधारसहित राष्ट्रपतिसमक्ष दाबी गर्नुभएको छ । वर्तमान प्रधानमन्त्री ओलीले एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित नेपालको संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दाबी गर्नुभएको उहाँका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
सो दाबी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवं दलका नेता ओलीले हस्ताक्षर गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि समय दिनुभएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष १४९ सांसदकाे हस्तक्षर सहितकाे दाबी पेश गर्नुभएकाे छ ।