मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित बहादुर घलानले स्थानीय तहको गुणस्तरीय सेवा प्रवाहका लागि तालिम आवश्यक रहेको बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित वडा अध्यक्ष र वडा सचिवहरुका लागि आयोजित दुई दिवशीय अभिमुखिकरणको शुक्रबार उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रमुख घलानले नागरिकका धेरै प्रकारका समस्याहरु वडा तहबाट समाधान हुने अहिलेको परिवेशमा ती समस्याहरुको कानुनी रुपमा समाधान गर्न पनि बेलाबेलामा तालिम आवश्यक रहेको बताउनुभयो । सेवाग्राहीलाई दिइने सेवा तथा सुविधाको गुणस्तरीयता र विश्वसनीयताको सुनिश्चितताका लागि वडाध्यक्ष तथा सचिवहरुलाई आफ्ना काम, कर्तव्य र अधिकारका विषयमा तालिम दिनुपर्ने उहाँको भनाई थियो ।
स्थानीय सेवा प्रवाह विद्यमान कानुन तथा समसामयिक विषयमा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका अध्यक्ष र सचिवहरुलाई तालिम प्रदान गरिएको हो । स्थानीय तहबाट सेवाग्राहीहरुलाई प्रदान गरिने सेवा गुणस्तरीय, छिटोछरितो तथा प्रभावकारी बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाको मेयर मिना लामाको सभाध्यक्षतामा भएको जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, निमित्त प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, हेटौंडा उपमहानगरपालिकाका कानुनी सल्लाहाकार अधिवक्ता मुकुन्द अधिकारी, अधिवक्ता बालकृष्ण अधिकारीले सहजिकरण गर्नु भएको थियो । शुक्रबारबाट सुरु भएको तालिम शनिबारसम्म सञ्चालन हुनेछ ।