प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनमा मुलुक होमिसकेकाले निर्वाचन हुने र नहुने विषयमा तर्क वितर्क गर्नुको कुनै औचित्य नभएको बताउनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रमलाई आज जनकपुरधाममा सम्बोधन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मिति दलहरूको सहमतिमा नै नेपाल सरकारले घोषणा गरेकाले निर्वाचन नहुनेमा विषयमा आशङ्का नगर्नका लागि सबैमा आग्रह गर्नुभयो ।

उहाँले निर्वाचन सम्बन्धी क्षेप्यास्त्र चलिसकेकाले यसलाई क्रमभङ्ग गर्न खोजेको खण्डमा दुर्घटना हुने बताउनुहुँदै आवधिक निर्वाचन लोकतन्त्रका लागि प्राण वायु भएको र यसप्रति संशय पैदा गर्नु ठिक नभएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गले गर्नका लागि निर्वाचन आयोग लागिपरेको बताउनुहुँदै स्थानीय तहको निर्वाचन लगतै प्रतिनिधिसभा तथा प्रदेशसभा एवम् राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव गराएर संविधान जारी भएको दोस्रो कार्यकालका लागि मुलुकको शासन व्यवस्था अगाडि बढ्ने पक्षमा आयोग रहेको बताउनुभयो ।
उहाँले निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठूलो गहना हो भन्नुहुँदै निर्वाचन प्रति आशङ्का उत्पन्न गराउने किसिमको अभिव्यक्ति नदिनका लागि जिम्मेवार पक्षसँग आग्रह गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहितालाई सामान्य नठान्न आग्रह गर्नुहुँदै यस पटक सामाजिक सञ्जालको अनुगमनका लागि विज्ञ सहितको केन्द्रीय नियमन समिति बनाएर सामाजिक सञ्जालको नियमनको काम सुरु भएकाले आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही हुने बताउनुभयो । उहाँले निर्वाचन भाग लिएर मतदान गर्ने आम नेपाली नागरिकको दायित्व भएको बताउनुहुँदै मन परेका उम्मेदवारलाई छानेर शासन प्रक्रियामा सहभागी हुनका लागि आम मतदातालाई अभिप्रेरित गर्नका लागि आम सञ्चार माध्यमसँग आग्रह गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेसँग स्पष्टीकरण लिने क्रम सुरु भएको बताउनुहुँदै यस पटक केन्द्रदेखि स्थानीय तहसम्म पत्रकारको सहभागितामा निर्वाचन आचारसंहिता अनुगमन समिति निर्माण गरिइएकाले अनुगमन हुने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष राजेश कर्णले निर्वाचनको समयमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण भएकाले निष्पक्ष रुपमा कलम चलाउनका लागि आग्रह गर्नुभयो । अभिमुखीकरण कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरू सहभागी छन् ।। अनलाइनखबरबाट