मकवानपुर । बागमती प्रदेशसभाकाे सर्वदलीय बैठक आह्वान भएकाे छ । नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान भएकाे हाे ।
सर्वदलीय बैठक यही पुस ८ गते दिनको ११ बजे प्रदेशसभा सचिवलायमा आह्वान गरिएको प्रदेशसभा सचिवलायका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयाे । सर्वदलीय बैठकबाट नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउन सबै प्रदेशसभाका सदस्यहरूलाई सूचना सम्प्रेषण गरिएको सचिव खड्काले बताउनुभयो । यसैगरी बागमती प्रदेशसभामा नुवाकोट जिल्लाको क्षेत्र नं २ (१) बाट प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षका रामप्रसाद ढुङ्गाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य हुनुभएको छ । उहाँ नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार भई नुवाकोटबाट विजयी हुनुभएको हो । बागमती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेशसभाको ज्येष्ठ सदस्य ढुङ्गानाले केही दिनभित्रै प्रदेशप्रमुख यादव चन्द्र शर्माबाट शपथग्रहण गर्नुभएपछि प्रदेशसभाका बाँकी एक सय नौजना सदस्यहरूलाई उहाँले नै शपथ गराउनुहुने कार्यसूची रहेको प्रदेशसभाका सचिव खड्काले बताउनुभयो ।