मकवानपुर — वाग्मती प्रदेशमा रहेको विपक्षी दलहरुले सरकारलाई मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्न चुनौती दिएका छन् । प्रदेशसभामा विपक्षीमा रहेका एमाले, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाको संयुक्त बैठकले मन्त्रालय विभाजन, मन्त्री तथा राज्यमन्त्री थप गरिएको विषयको औचित्य सदनबाटै पुष्टि गर्न चुनौती दिएको हो ।

नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकमा सरकारको कामको समीक्षा, प्रदेशसभामा प्रतिपक्षी दलको भूमिका र विपक्षी दलहरुवीच कसरी समन्वय गरेर अगाडि बढ्ने विषयमा छलफल भएको विवेकशील साझाका सांसद रमेश पौड्यालले जानकारी दिए । ‘७ वटा मन्त्रालयबाट अहिले १४ वटा बनाइएको छ । जसको कारणले गर्दा प्रदेश सरकारको खर्च बढ्ने निश्चित छ । के कारणले यस्तो भयो । किन सरकार संघीयता विरोधी र अलोकप्रिय काम गरिरहेको छ भन्ने विषयमा छलफल भयो । हामी सरकारले गरेको गलत कामको विरुद्धमा एक भएर अगाडि बढ्ने निष्कर्षमा पुगेका छौं,’ पौड्यालले भने ।

एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले सदनमा कसरी प्रस्तुत हुने भनेर प्रतिपक्षी दलहरुको बैठक आह्वान गरिएको बताइन् । एमालेको आह्वानमा उक्त बैठक बसेको हो । ‘सरकारलाई बैलैमा खबरदारी गराउन हामीले यसो गरेका हौं । सरकार सदनप्रति जिम्मेवार हुनुपर्छ । संघीयतालाई संस्थागत रुपमा अगाडि बढाउन पनि प्रतिपक्षीले निरन्तर खबरदारी जरुरी रहेको छ,’ उनले भनिन् ।

एमालेको अवरोधका कारण प्रदेशसभाको बुधबार बैठक स्थगित भएको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ । बैठकमा सदन अवरुद्धमा साथ दिन एमालेले अन्य दललाई आग्रह गरेको थियो । तर, दलहरु सकारात्मक देखिएनन् । इकान्तिपुरबाट ।