मकवानपुर – मकवानपुरको राक्सिराङ गाउँपालिका–३, घट्टेखोलाका चेपाङहरुले भूमिको अधिकार स्थापित गराई दिन माग गरेका छन् । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित बहादुर घलानको नेतृत्वमा गएको अनुगमन टोलीलाई उनिहरुले बाँच्ने र बासको अधिकार स्थापित गराई दिन आग्रह गरेका हुन् ।

जिसस प्रमुख घलानको नेतृत्वमा उपप्रमुख सानुकाजी लुईटेल, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, भूमि आयोगका अध्यक्ष विष्णु प्रसाद दाहाललगायतका टोलीले राक्सिराङ –३, घट्टेखोला स्थित सुकुम्वासी चेपाङ बस्तीको अवलोकन गर्नु भएको थियो । उक्त स्थानमा २०४७ सालबाट ९ घर चेपाङहरु बसोबास गर्दै आईरहेका छन् । प्रजा विकास कार्यक्रम अन्तर्गत सुकुम्बासी प्रमाणित भई तत्कालिन जिबिसको नाममा रहेको जग्गामा उनिहरु बसोबास गर्दै आईरहेका छन् । सुरुमा ९ घरबाट अहिले २७ परिवार भईसक्यौं, पुर्खाहरु बितेर गईसके, तर अझै जग्गा आफ्नो नाममा आउनको छैन, स्थानीय रामचन्द्र प्रजाले भन्नुभयो । अधिकार कसरी र काँहा खोज्ने त्यो पनि थाहा छैन, बाच्ने र बस्ने बासको व्यवस्था भए हुन्थ्यो, उहाँले थप्नुभयो ।

सो क्रममा प्रमुख घलानले चेपाङको भूमिसम्बन्धी समस्या समाधानका लागि आफुले पहल गर्ने बताउनुभयो । उहाँले जिल्ला स्तरमा आफुबाट हुन सक्ने सम्पूर्ण प्रयास गरेर लोपोन्मुख चेपाङ जातिको अधिकार स्थापित गराउन भूमिका खेल्ने बताउनुभयो । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी पाण्डेले राज्यले सबै नागरिकको अधिकार स्थापित गर्ने भन्दै समस्या समाधानमा सकारात्मक रुपले लाग्ने बताउनुभयो । यस्तै जिल्ला भूमि आयोगका अध्यक्ष बिष्णु प्रसाद दाहाले आयोग मार्फत यस विषयको समाधानका लागि पहल गर्ने बताउनुभयो । कार्यक्रममा राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्थम् थिङ, जिसस सदस्य बिरेन्द्रकुमार लामालगायत मालपोत कार्यालय, नापि कार्यालय, जिल्ला प्रहरी, शसस्त्र प्रहरी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, फियान नेपालका प्रतिनिधि, खाद्य अधिकार मञ्चका प्रतिनिधिहरुको सहभागिता थियो ।












