मकवानपुर – मकवानपुरमा सोमबार जिल्ला स्तरिय विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ । बागमती प्रदेश शिक्षा निर्देशनालको आर्थिक सहयोगमा शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले कार्यक्रम आयोजना गरेको हो ।
शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको अध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख घलानले विज्ञान प्रदर्शनीले विद्यार्थिहरुको सिक्ने र सिकाउने कलामा बृद्धि हुने हुँदा कार्यक्रम निकै उत्कृष्ठ भएको बताउनुभयो । उहाँले बिद्यार्थीले निर्माण गरेका सामग्रीलाई प्रयोगमा ल्याउन र यसलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा निर्देशनालयका निर्देशक पुर्ण बहादुर दर्जीले प्रबिधिलाइ बिधालयसँग जोड्ने साथै देशका लागि मात्र नभई बिश्वका लागि चर्चित बैज्ञानिक उत्पादन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले पुस ५ गते भित्र प्रदेशका १३ वटै जिल्लामा कार्यक्रम आयोजना गरेर पुस अन्तिममा प्रदेश स्तरीय कार्यक्रम आयोजना गर्ने समेत जानकारी दिनुभयो ।
हेटाैंडा–२ स्थित सिदार्थ माविकाे सभाहलमा भएकाे प्रदर्शनीमा जिल्लाका १० वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तहका एक/एक वटा माध्यमिक विद्यालयको सहभागिता थियो । प्रदर्शनीमा जिल्लाको कैलाश बाहेक अन्य पालिकाका विद्यालयका बालबालिकाहरुले निर्माण गरेको विज्ञान प्रविधिहरु देखाइएको थियो । प्रदर्शनीमा भीमफेदी गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालय प्रथम भएको छ । यस्तै, थाहा नगरपालिकाको हिमालयन इङ्लिस बोर्डिङ स्कुल द्वितीय, बकैया गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालय तृतीय र मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालय सान्त्वना भएको छ । विज्ञान प्रदर्शनी कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयलाई क्रमशः नगद ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ, २ हजार रुपैयाँ र १ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको छ । प्रदर्शनीमा प्रत्येक विद्यालयबाट एक जना शिक्षकको प्रतिनिधित्वमा दुई जना विद्यार्थीको सहभागिता रहेको थियो ।