मकवानपुर – बागमती प्रदेश अन्तर्गत आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना शुरु भएको छ । मतदानको स्थानीय तह तर्फको मतगणना शुरु भएको हो ।
आज भएको निर्वाचनको मतदानमा १०६ प्रदेशसभा सदस्य तथा २३७ स्थानीय तहका प्रमुख÷उपप्रमुखले कुल ३४३ जनाले मतदान गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । आजको निर्वाचनमा विकेकशील साझाका ३ जना बागमती प्रदेशसभा सदस्य मतदानमा सहभागी हुनु भएन् ।
बागमती प्रदेश राष्ट्रियसभा सदस्यमा महिला र अन्य गरी २ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल, विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर र अन्यमा गोपाल शाक्य तथा नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ गरि ६ जना प्रतिष्पर्धी हुनु हुन्छ ।
यस्तो छ दलगत हिसाब
बागमती प्रदेशको १३ जिल्लाका ११९ वटा स्थानीय तहहरुमा नेकपा एमाले बलियो रहेको छ । ११६ जना प्रतिनिधि एमालेको रहेको छ भने प्रदेश सभामा ४३ जना सांसद मतदाताको रुपमा रहेका छन् ।
नेपाली कांग्रेसको स्थानीय तहमा ६६ जना र प्रदेश सभामा २२ जना रहदाँ नेकपा माओवादी केन्द्रको ३५ जना स्थानीय तहका र २३ जना प्रदेश सभा सदस्य रहेका छन् । नेकपा (एस)को प्रदेश सभामा १३ जना सदस्य रहेका छन् भने १७ जना स्थानीय तहका प्रतिनिधि रहेका छन् । राप्रपाका दुई जना प्रदेश सभा सदस्य र दुई जना स्थानीय तह प्रतिनिधि रहेका छन् ।
त्यस्तै नेपाल किसान मजदुर पार्टीमा पनि २ जना प्रदेश सभा सदस्य र २ जना स्थानीय तहका प्रतिनिधि रहेका छन् । विवेकशील साझा पार्टीका प्रदेश सभामा तीन जना र स्वतन्त्र प्रदेश सभा सदस्य एक जना रहेका छन् ।