‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’ भन्ने नाराका साथ आज विश्व एड्स दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउन थालिएको हो ।
एचआइभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन यो अभियान सुरु गरिएको हो । हालसम्म नेपालमा २९ हजार ५०३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । चिकित्सकहरूका अनुसार एचआइभी संक्रमित व्यक्ति एड्सको अवस्थामा पुग्न करिब दशौँ वर्ष लाग्छ । समयमै पहिचान भएर उपचार भए एड्सको अवस्था नआउने चिकित्सकहरूको दाबी छ ।