मकवानपुर – मकवानपुरमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित ढंगबाट सम्पन्न गराउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताउनुभयो ।
निरौलाका अनुसार जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयलगायतले तयारी अन्तिम चरणमा पु¥याएको छ । “निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ, निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षाको व्यवस्था सुदृढ बनाइएको छ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित गरिएको छ, निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम साथै अन्य कर्मचारीलाई नियुक्ति पत्र समेत वितरण भईसकेको छ ।” उहाँले भन्नुभयाे ।
मुख्य निर्वाचन अधिकृत निरौलाका अनुसार जिल्लाभित्रको १६५ मतदानस्थलका ३६४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिमका साथै सहायक कर्मचारीहरुलाई नियुक्तिपत्र र भत्ता समेत प्रदान गरिसकिएको छ । मतपत्र लगायतका मतदानका दिन चाहिने सामाग्री पनि हस्तान्तरणको तयारी गरिएको उहाँले वताउनुभयो । निर्वाचन सम्पन्न गर्न जिल्लाका ३६४ मतदान केन्द्रमा खटिने ७२८ मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र थप ७२ जना गरि ८ सय जनालाई मतदान सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको साथै हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ जना कर्मचारी परिचालन गरिएको उहाँले बताउनुभयो । निर्वाचनका लागि जिल्लामा २ हजार ५ सय निजामती कर्मचारी र ५ सय सहायक स्तरका शिक्षकहरुलाई खटाईएको निरौलाले बताउनुभयो ।
निरौलाका अनुसार सुरक्षाका दृष्टिले जिल्लाका १६७ मतदानस्थलमध्ये १९ वटा मतदानस्थल अति संवेदनशील, ६० वटा संवेदनशील र ८० वटा मतदानस्थल समान्य सूचिमा राखिएको छ । सुरक्षा व्यवस्था थप सुदृढ बनाउन जिल्लामा १ हजार ६९९ म्यादी परिचालन गरिएको छ । सुरक्षा व्यवस्थाका बारेमा स्थलगत निरिक्षण गरेर सुरक्षा व्यवस्था सुदृढ पारिएको साथै बदर मत कम गर्न विभिन्न स्थानमा नमुना मतदान कार्यक्रम र मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाईएको उहाँले बताउनुभयो । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले सम्पन्न गर्ने गरि तयारी गरिएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताउनुभयो । तीन लाख ७३३ मतदाता रहेको मकवानपुरमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ । मकवानपुर क्षेत्र नम्बर १ मा एक लाख ५० हजार एक सय ५५ र क्षेत्र नम्बर २ मा एक लाख ५० हजार पाँच सय ७८ मतदाता छन् । जिल्लामा पाँच जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।