नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे मङ्सिर ४ गतेकाे चुनावपछि एमाले राष्ट्रिय शक्ति भएर आउने दाबी गर्नुभएकाे छ । एमालेको निर्वाचन परिचालन समिति सिन्धुली क्षेत्र नं. १ ले दुधौली नगरपालिका ९ काे कमला बहुमुखी क्याम्पसमा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले सबैलाई समेट्ने गरी यस पटकको चुनावी घोषणापत्र ल्याएको बताउनुभयो । आर्थिक समृद्धि, कृषि, रोजगारी, राष्ट्रको हित र विकासका लागि राष्ट्रिय शक्तिको आवश्यक रहेको उहाँले बताउनुभयो । देशलाई विकासको अभियानमा लानका लागि मङ्सिर ४ गतेको चुनावपछि एमाले राष्ट्रिय शक्ति भएर आउने उहाँकाे दाबी थियाे । सिन्धुलीमा निर्माण भएको मदन भण्डारी राजमार्गलाई देख्ने बित्तिकै एमालले कति चाँडो विकास गर्न सक्छ भनेर गर्व गर्न सकिने अध्यक्ष ओलीकाे भनाइ थियाे । राजमार्गले छोएको जिल्लाका कारण आर्थिक समृद्धि भएको उहाँले बताउनुभयाे ।