पाहुना टोली युएईविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हार व्यहोरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई युएईले ८४ रनले हराएको हो ।
युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्ध शतकीय इनिङ खेले पनि नेपालले लक्ष्य पूरा गर्न सकेन । एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु खेलाडी अर्जुनले ५१ रनको अर्ध शतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५४ रनको इनिङ खेले । नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन बनाए । कुशल भुर्तेल ६, सोमपाल कामी ३, करण केसी ३ तथा ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । गुलशन झा १९ रनमा अविजित रहे भने ललित राजवंशीले अविजित ६ रन बनाए । युएईका आयन अफ्जल खानले ४ विकेट लिए । बसिल हामिदले २ तथा जाहोर खान, रोहन मुस्तफा र अहमेद राजाले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो । युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्ध शतकीय इनिङ खेले । यस्तै मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरविन्दले ४० रन बनाए । एलिशन शाराफुले २९ रन बनाए भने बसिल हामिदले १४ तथा कप्तान सिपी रिजवान २ रनमा आउट भए । आयन हफ्जल खानले २६ रन जोड्दा आउट भए भने अहमेद राजाले अविजित २७ रन बनाए । नेपालका गुलशन झाले २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । यस जितसँगै युएईले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । युएई र नेपालबिचको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय बुधबार तथा तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।











