मकवानपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले बिगतमा यसैसाता सम्पन्न उपनिर्वाचनको परिणामले नेकपालाई खतराको संकेत दिएको बताएका छन् । मकवानपुरको मनहरीमा आज शुक्रबार दिउँसो आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले उपनिर्बाचनमा धरान, भक्तपुर, र चितवनमा देखिएको परिणाम नेकपाका लागि खतराको संकेत भएको संज्ञा दिएका हुन् ।

कम्युनिष्टकै गढ मानिएका क्षेत्रहरुमा पराजय व्यहोर्नुपरेको सन्दर्भ कोट्याउँदै नेता नेपालले भने, ‘पोखरामा हामीले जित्यौँ, दाङमा जित्यौँ भनेर उफ्रिने र मात्तिने बेला छैन ।’ उक्त परिणामलाई हेर्दा निर्वाचनको निर्मम समीक्षा गरी अघि बढ्नुपर्ने उनको भनाई छ । केही दिनमै स्थायी कमिटीको बैठक बस्न लागेको भन्दै नेता नेपालले उपनिर्वाचनको समीक्षासहित पार्टी एकताको सबै कामहरु छिटै टुङ्ग्याउने आश्वासन पनि दिए । अब बस्ने स्थायी कमिटी बैठकले पोलिटब्यूरो कमिटी निर्माण गर्ने एजेण्डाले सार्थकता पाउने उनको दाबी छ ।
नेता नेपाल तत्कालीन प्रधानमन्त्री रहेका बेला २०६७ साल असार ८ गतेको मन्त्रीपरिषद बैठकले बस्ती सार्ने निर्णय गरी राप्तीपारिका दुईवटा वडालाई सरकारले राप्तीवारिपट्टि स्थानान्तरण गरेको क्षेत्रमा पनि उनले अवलोकन गरे । त्यसक्रममा सीमान्तकृत बोटे समुदायका एकीकृत बस्ती तथा कृषि उपज र सडकहरु अवलोकन गर्दै नेता नेपाल कार्यक्रमस्थलमा पुगेका थिए । त्यसक्रममा उनलाई स्थानान्तरण गरिएका बस्तीका बासिन्दाले थप पूर्वाधारहरु निर्माणका लागि मागपत्र पेश गरे ।
नेकपा मनहरी गाउँपालिकाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटनमा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य बिरोध खतिवडा, संविधानसभा सदस्य राजाराम स्याङ्तान, नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका सचिव प्रेमबहादुर पुलामी (छिन्तु), मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।