नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । आज आइतवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काठमाण्डाैमा आयोजित केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशलाई गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले देशको वर्तमान शिक्षा प्रणालीलाई व्यावहारिक बनाउनुपर्ने बताउनुभयो । उहाँले सबै नागरिकलाई सिपको तालिम दिनुपर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाललाई पनि प्रगतlको बाटोमा लिएर जानुछ भने गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्नुपर्छ । त्यसको निम्ति शिक्षा प्रणाली ठिक हुनुपर्छ । अहिलेको व्यवहारलाई निर्देशित गर्ने शिक्षा प्रणाली छ कि छैन ? पढाइ, पढाइको निम्ति हो कि पढाइ समाजको परिवर्तनको निम्ति हो ? या उत्पादनमा वृद्धि गर्नका निम्ति हो ? देशको विकास गर्नका निम्ति हो ? ज्ञान र बुद्धिको सदुपयोग गर्नका निम्ति हो ? भन्ने कुरामा हामीले प्रष्ट भएर त्यसअनुसारकाे शिक्षा नीति अवलम्बन गर्नुपर्छ ।’ अध्यक्ष नेपालले अनुशासित र मेहनती नागरिक भएका देश मात्रै विकासमा अगाडि बढ्न सकेको उल्लेख गर्दै नेपालमा पनि विकासका लागि असल नागरिक उत्पादन हुनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी सङ्गठनलाई सबै विश्वविद्यालयमा विस्तार गर्न अनुरोध गर्नुभयो । अध्यक्ष नेपालले आउँदाे चुनावमा जनमतलाई आफ्नो पक्षमा तान्नका लागि सक्रिय हुन विद्यार्थी नेता, कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।