हेटाैंडा – उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले बन्द भएका उद्योग कलकारखाना सञ्चालन गरिने बताउनु भएको छ । बन्द र चालु अवस्थामा रहेका उद्योग तथा कलकारखानाको स्थलगत अवस्था बुझ्न बिहीबार हेटौंडा आइपुग्नु भएका मन्त्री बडूले हेटौंडाका उद्योगी व्यवासायीहरुसँगको छलफलको क्रममा सरकारी स्वामित्व रहेको उद्योगहरु छिट्टै सञ्चालनमा ल्याइने बताउनुभयो ।
स्थलगत रुपमा उद्योगको अवस्था र समस्या बुझ्न विभिन्न स्थानमा पुगेर अवस्था बुझेको भन्दै मन्त्री बडले भन्नुभयो, –“नेपालमा आयात बढ्दो छ अपेक्षा अनुरुप निर्यात नभएकाले पछिल्लो समय नेपालको अर्थतन्त्र ठिक छैन् । केहिवर्ष देखी अर्थतन्न्त्रमा समस्या छ, उत्पादन बढाउनु पर्नेछ, नीति निर्माण पछि पूर्ण क्षमताका उद्योगहरु पूर्ण क्षमतामै सञ्चालन गरिनुपर्ने छ ।” औद्योगिक क्षेत्र पूर्णरुपमा प्रयोग नभएको अवस्थामा नयाँ उद्योग सञ्चालन गर्न स्वदेशी उद्योगीलाई उहाँले आग्रह समेत गर्नुभयो ।
उद्योग संघ मकवानपुरद्धारा मन्त्री बडूलाई ज्ञापनपत्र
यसैबीच हेटौंडा औद्योगिक क्षेत्रमा रहेको उद्योग संघ मकवानपुरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूलाई ज्ञापनपत्र बुझाएको छ । उद्योग तथा कलकारखानाको अवस्था र समस्या बुझ्न देशका विभिन्न स्थान पुगेर हेटौंडा आइपुग्नु भएका मन्त्री बडुलाई हेटौंडा औद्योगिक क्षेत्रको अवस्था र उद्योगी व्यवसायीहरुको समस्या र अवस्थाबारे अवगत गराउँदै ज्ञापनपत्र बुझाईएको हो ।

उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले बुझउनु भएको ज्ञापनपत्रमा उद्योगीहरुको असहमति अनुरुप २०७५ मंसिर ५ गते जग्गा भाडा वृद्धि गरिएको, मन्त्रालयबाट तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी निर्देशन दिई रोक्का गरिएको निर्णयलाई हाल आएर सोही मितिदेखी लागुहुने गरी कार्यान्वयनमा आउन लागेको प्रति आपत्ति जनाएको विषय उल्लेख रहेको छ । ज्ञापनपत्र मार्फत नाकाबन्दी, कोभिड र युक्रेन युद्ध जस्ताका कारण उद्योग क्षेत्रमा परेको असरलाई मध्येनजर गर्दै हाललाई उक्त निर्णय खारेज गर्न आग्रह गरिएको छ ।









