मकवानपुर – हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को निति कार्यक्रम तथा बजेट भोली सार्वजनीक गर्ने तयारी गरेको छ । तर, बहुमत कार्यपालिका सदस्यहरु असन्तुष्ट भएका कारण भोलीको नगरसभामा निति कार्यक्रम र बजेट पेश हुने सम्भावना भने कमै रहेको छ । कार्यपालिका सदस्यहरुले छलफल नै नगरि निति र विधि मिचेर एकलौटी ढंगले बजेट ल्याउन लागेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट बिजयी बुहमत अर्थात ५४ जना कार्यपालिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् । कार्यपालिका सदस्यहरुले बजेट निर्माण गर्दा बिभीन्न बिषयगत समितिमा छलफल नगरिएको, कार्यपालिका बैठकबाट पास नगरिएको, चुनाबका बेलाका गठबन्धनमा रहेका दलका प्रतिबद्धता अनुसार मात्र बजेट हालिएको, बैठक कार्यबिधि संसोधन गर्न मेयर मिनाकुमारी लामाले निवेदन समेत दर्ता गर्न नमानेको लगायतका विषयमा असन्तुष्टि जनाएका छन् । उनिहरुले स्थानीय सरकार सञ्चालन ऐनसंग बझिएको कार्यपालिका नियमावली र बैठक कार्यविधि संसोधन प्रस्ताव ५४ जना बहुमत नगरसभा सदस्यले हस्ताक्षर गरेर पेश गर्दा दर्ता समेत नगरि नगर प्रमुख अलोकतान्त्रिक र गैर जिम्मेवार भएको ठहर गरेका छन् ।
भोली हुने नगरसभा सम्बन्धमा आज नेकपा एमाले हेटौँडा उपमहानगरपालिका दलको बैठकले आफ्नो धारणा प्रष्ट पार्दै नीति, कार्यक्रम र बजेट निर्माणमा विषयगत समितिमा छलफल गर्नुपर्नेमा समितिहरू नै गठन नगरेको, कार्यपालिकामा समेत नीति, कार्यक्रम र बजेट छलफल र पास नगरि सिधै नगरसभामा पेश गर्न लाग्नु पू्र्णरूपमा एकलौटी र बलमिच्याईको दुस्साहस गरेको निष्कर्ष निकालेका छन् । यो चरित्रले नगर प्रमुखले आफ्नो अधिकार मात्र नभई कार्यपालिकाको अधिकारमाथी हस्तक्षेप गर्ने र सिंगो नगरबासीको अभिभावक बन्नुको सट्टा निर्वाचनको गठबन्धनको चुनावी धङ्घङ्गीबाट मुक्त हुन नसकेको कारण समस्या उत्पन्न भएको बताईएको छ ।
बैठकले सहमति, सहकार्य र उच्च समजदारीका साथ अगाडि बढ्न दलका उपनेता अनिलकुमार बानियाँ संयोजक, सदस्यहरू सुनिल मुक्तान र फूर्वादोर्जे लामा रहेको सहजिकरण समिति समेत गठन गरेको छ । एमाले हेटौंडा उपमहानगरपालिका दलका नेता नवीन सिग्देलको सभाध्यक्षतामा बसेको बैठकमा प्रमुख अथिति प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, दलका उपनेता अनिलकुमार बानियाँ, प्रमुख सचेतक सुनिल मोक्तान, बोर्ड सचिव फूर्वादोर्जे लामा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
के छ व्यवस्था ?
हेटौंडा उपमहानगरपालिकाको नगरसभा सञ्चालन कार्यविधि २०७४ अनुसार सभामा तत्काल कायम रहेका सदस्यहरुको ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएमा मात्र गणपुरक संख्या मानिने उल्लेख छ । तर, उक्त संख्या पुग्ने सम्भावना नहुँदा सभा बस्ने सम्भावना पनि न्युन भएको हो ।
हेटौंडा उपमहानगरपालिका कार्यालय नगर सभा सञ्चालन कार्यविधि, २०७४ को परिच्छेद –२ मा सभाको बैठक तथा बैठक सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार,,,,,,
५. सभाको गणपूरक संख्या ः (१) सभामा तत्काल कायम रहेका सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्य उपथ्ति भएमा अधिवेशनको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम गणपुरक संख्या नपुगेमा अध्यक्षले तीन दिन भित्र अर्काे बैठकका लागि दफा (३) बमोजिम सूचित गर्नुपर्नेछ ।
(३) उपदफा (२) बमोजिम आव्हान गरेको अधिवेशनमा गणपुरक संख्या नपुगेमा सात दिन भित्र अधिवेशन बस्ने गरी दफा (३) बमोजिम सूचना गर्नुपर्नेछ ।
(४) उपदफा (३) बमोजिम पुनः सूचना गर्दा गणपुरक संख्या नपुगेमा कम्तीमा पच्चीस प्रतिशत सदस्यहरुको उपस्थितिमा अधिवेशन बस्नेछ ।