काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार सहित १७५ जना विरुद्ध आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अख्तियारले मुद्दा दायर गरेकामा ३ जना पूर्वमन्त्री, ६ जना तत्कालीन विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारी र अन्य व्यक्तिहरू रहेका छन् । ललिता निवास क्यापभित्रका सरकारी र सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा कायम गर्ने गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त, तत्कालीन सचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र तत्कालीन सचिव दिनेशहरि अधिकारी विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।