हेटौंडाः नेकपा एमाले निकट रहेको विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले विभिन्न ९ बुँदे माग राख्दै हेटौंडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नगरभित्रको शिक्षा क्षेत्रको बेथितीलाई स्थानीय सरकारकाले नियन्त्रण गर्नुपर्ने भन्दै अनेरास्ववियुले हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमार्फत मेयरलाई ज्ञापन पत्र बुझाएको हो ।
बिहिबार अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलसहितको टोलीले हेटौंडा नगरमा शिक्षाको क्षेत्रका गर्नुपर्ने सुधारहरु साथै विद्यार्थीले सधैंजसो भोग्दै आएका समस्याहरुका बारेमा उपमेयर बानियाँलाई ध्यानाकर्षण गराएका थिए । अनेरास्ववियुले हेटौडा उपमहानगर भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई दिवा खाजा बापत १५ रुपियाँ मात्र उपलब्ध हुने भनिएकोमा मुल्यबृद्धिलाई ध्यानमा राखि कम्तिमा २५ रुपियाँ कायम गर्न माग गरेको छ । यसैगरी उपमहानगर भित्रका निजी शैक्षिक संस्थाहरुले शैक्षिक वर्ष २०७९ को लागि गरिएको चर्को शुल्क वृद्धि प्रस्ताव अवैज्ञानिक र समयसापेक्ष नरहेको भन्दै निजि विद्यालयहरु सेवाभन्दा नाफामुखि भएको प्रति शुल्क वृद्धि प्रस्ताव पुन नयाँ ढगंबाट गराउनका लागि संगठनले माग गरेको छ ।
नगरभित्रका नीजि शैक्षिक संस्थाहरुले शैक्षिक वर्ष २०७९ का लागि प्रस्तावित शुल्कप्रति कुनै निर्णय नै भएको अवस्थामा पनि शुल्क लिन लागिएको भन्दै हाललाई उक्त कार्यमा रोक लगाई अघिल्लो शैक्षिक वर्षमा कायम भएकै शुल्क लिन अनेरास्वियुले माग गरेको अध्यक्ष विशाल पौडेलले जानकारी दिनुभयो । साथै संगठनले उपमहानगर भित्रका निजी शैक्षिक संस्थाहरुको वर्गीकरण आवश्यक भएको ठम्याउँदै पटक पटकको आग्रहलाई बेवास्ता गरिएको भन्द निजी शैक्षिक संस्थाहरुको वर्गीकरण गर्न कार्यदल गठन गरी यथाशिघ्र बर्गीकरण गर्न अनेरास्ववियुले माग गरेको छ ।
यस्तै राज्यको लगानी रहेको सामुदायिक विद्यालयहरुले अग्रेजी माध्यमको पढाइ गरेको नाममा शुल्क उठाएको प्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको पनि अध्यक्ष पौडेलले बताउनुभयो । निःशुल्क विधुत वितरण गर्न सक्ने उपमहानगरले सामुदायिक शिक्षा निःशुल्क गर्न नसक्ने कुरा व्यवहारिक नभएको भन्दै उहाँले शुल्क लिने सामुदायिक विद्यालयलाई कारवाहीको दायरामा ल्याउन पनि माग गरिएको छ । निजी शैक्षिक संस्थाकै सन्दर्भमा कमिसनको चक्करमा वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने गरेको भन्नुहुँदै अध्यक्ष पौडेलले पाठ्यपुस्तक अपडेटेड र अपग्रेटेड भएमा मात्र परिवर्तन गर्ने नत्र पुरानै पुस्तकलाई निरन्तरता प्रदान गर्न माग गर्नुभएको छ । साथै निजी शैक्षिक संस्थाहरुले विद्यार्थीहरुको कलिला काधमा गरुङ्गो भारी बोकाउने गरेको र यसको अन्त्यको लागि उपमहानगरले पहल गर्नुपर्ने माग समेत संगठनले गरेको छ । हेटौंडा भित्रका सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि नगरबस संचालन गर्न तथा छात्रावासको व्यवस्था मिलाउन पनि अनेरास्ववियुले माग गरेको छ । उक्त मागहरुलाई बेवास्ता गरिएमा अनेरास्ववियुले चरणबद्ध आन्दोलन गर्न बाध्य हुने भन्दै आन्दोलनबाट सिर्जित जस्तोसुकै परिणामको भागिदार हेटौंडा उपमहानगरपालिका नै हुने बताइएको छ ।
ज्ञापनपत्र बुझ्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका उपमेयेर राजेश बानियाँले ज्ञापन पत्रमा समेटिएका विषयहरुलाई उपमहानगरले गम्भीरताका साथ लिने बताउनुभएको छ । उहाँले हेटौंडा भित्र रहेका ७६ वटा सामुदायिक विदालयका बेथितीहरुलाई हटाएर उपमहानगरले शिक्षालाई पर्याप्त मात्रामा गाउँतहसम्म नलगेसम्म हामीले खोजेको परिवर्तन नआउने बताउनुभयो । शिक्षाको सुधारका लागि आवश्यक विषयहरु नीति तथा कार्यक्रम समेत तयार गरिएको उपमेयर बानियाँले जानकारी दिनुभयो । उहाँले यसअघि शिक्षाको क्षेत्रमा केके भए भनेर खोजिरहने भन्दापनि अब जनताले आफुहरुलाई विश्वास गरेर नगरको जिम्मेवारी दिइरहँदा नगरको नीति तथा कार्यक्रममा बजेटको परिधिभित्र रहेर दिवा खाजा, सामुदायिक विद्यालयको शुल्क, शिक्षाको गुणस्तरमा बृद्धि गर्दै विद्याथीृलाई सामुदायिक विद्यालयप्रति आकर्षित गर्ने गरी कार्यविधी बनाएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले विजुली र खानेपानीको विषयमा नगरले गरेको निर्णयको बारेमा समेत जानकारी गराउनुहुँदै उपमेयर बानियाँले हाललाई सरकारले सुचिकृत गरेका विपन्नवर्गबाट निशुल्क गरी यस कार्यको सुरुवात गरिएको बताउनुभयो । नीजि शैक्षिक संस्थामा बर्षेनी पुस्तक परिवर्तनको कुरालाई पनि सम्बन्धित व्यक्तिसँग कुरा गर्ने तथा नगरबस र छात्रावासको विषयमा पनि आवश्यक समन्वय गरी अगाडी बढ्ने उहाँको भनाई छ ।
अनेरास्ववियुका स्थायी कमिटी सदस्य सन्तोष पौडेलले अहिले नीजि शैक्षिक संस्थाले नगरपालिकाको निर्णयलाई नै बेवास्ता गरी आफुखुसी शुल्कबृद्धि गर्ने काम भएकाले यसलाई तुरुन्त रोक्न आग्रह गर्नुभएको छ । अनेरास्ववियु कुनै एक पार्टी निकट संगठन भएपनि अब शुल्कबृद्धिको आन्दोलनमा अनेरास्ववियुले आफ्नो पार्टीको व्यक्ति भनेर छाड्ने काम नगर्ने उहाँले बताउनुभयो । उहाँले सरकारले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्म शिक्षा निशुल्क घोषणा गरेपनि देशभर लागु हुन नसकेको अवस्थामा हेटौंडा नगरकै प्रयासमा विद्यालयले विद्यार्थीबाट १ रुपैयाँपनि शुल्क नलिई पूर्ण निशुल्क अध्ययन गर्ने पहिलो नगर बनाउन पनि अनुरोध गर्नुभयो । शिक्षा क्षेत्रको सुधारको लागि अनेरास्वविले नगरपालिकालाई सदैब सहयोग गर्ने उहाँले प्रतिबद्धता समेत जनाउनुभएको छ । अनेरास्ववियु मकवानपुरको बुधबार भएको पाँचौ पुर्ण बैठकले उक्त विषयहरुमा नगर लगायत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै माग पुरा नभएमा चरणबद्ध आन्दोलन गर्ने निणृय गरेको थियो । बिहिबार हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामालाई नै भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेपनि मेयर लामालाई नभेटिएपछि उपमेयर बानियाँलाई ज्ञापनपत्र बुझाइएको हो ।
Home प्रदेश बागमती प्रदेश शिक्षा क्षेत्रको बेथितीलाई नियन्त्रणको माग गर्दै हेटौंडा उपमहानगरलाई अनेरास्ववियुको ज्ञापनपत्र