मकवानपुर – हेटौंडामा थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको २३औं स्मृति दिवश मंगलबार विशेष कार्यक्रमको आयोजना गरेर मनाईएको छ । रुपचन्द्र विष्ट स्मारक समिति नेपालले मंगलबार हेटौंडा–११, स्थित थाहा भवनमा रुपचन्द्र बिष्टको योगदानको बारेमा चर्चा परिचर्चा गरेर स्मृति दिवश मनाएको हो ।

रुपचन्द्र विष्ट स्मारक समिति नेपाल मकवानपुरका अध्यक्ष नरेन्द्रलाल रिजालको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा दिवश मनाईएको हो । कार्यक्रममा प्रमुख अतिति घलानले रुपचन्द्र विष्ट एउटा मार्ग निर्देशन गर्ने दार्शनीक भएको उल्लेख गर्नुभयो । उहाँले रुपन्द्र बिष्ट मकवानपुर र देशकै लागि पबित्र व्यक्ति भएको उल्लेख गर्नुहुँदै उहाँले देखाउनु भएको मार्गमा हिड्न प्रेरीत गर्नुपर्ने र निरन्तर हिड्न प्रयास गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अन्य वक्ताहरुले पनि उहाँको योगदान र जिवनीका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले रुपचन्द्रको बिचार अहिलेपनि समाज परिर्वतनका लागि उत्तिकै प्रभावकारी रहेको बताउनुभएको थियो । उहाँहरुले वर्षमा एक दिन मात्र सम्झेर बिष्ठका योगदानलाई र जनमुखि विचारलाई मर्न दिन नहुने भन्दै नयाँ पुस्तामा यसको विस्तार हुनु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा रुपचन्द्र बिष्टसंगै थाहा आन्दोलनमा लाग्नु भएका एवम् उहाँका बिचारमा लाग्नु भएकाहरु धर्म राजथला, कृष्ण घिमिरे, तुलसी थापा, बलराम बल, सिताराम बर्तौला, प्रकाश पौडेल, कमला पौडेललगायतले उहाँको जिवनीका बारेमा चर्चा गर्नुभएको थियो ।

रुदाने, जसरु, रापसरु, स्वरूपे, जस्ता उपनामले परिचित विष्टले २०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाउनु भएको थियो । रूपचन्द्र विष्ट मकवानपुरमा आफ्नो कार्यक्षेत्र र चेतना फैलाउने शिक्षावादी, नारीवादी र जनवादी नेता हुनु हुन्थ्यो । ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने जस्ता नाराका साथ विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन सहयोग गरेको थियो । उहाँले छोराछोरी स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था समेत गर्नु भएको थियो ।
विष्टले विद्यालय तहमै पारिवारिक विचार भन्दा फरक कम्युनिस्ट राजनीति गर्नु भएको थियो । उहाँ वि.सं. २००७ देखि २०१० सालसम्म कम्युनिस्ट विद्यार्थी राजनीतिमा सक्रिय हुनु हुन्थ्यो । २०१७ सालपछि २२ र २९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च हुनु भएका विष्ट २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायतको सदस्य हुनु भएको थियो । प्रजातन्त्रवादी विचार भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उहाँ गिरफ्तारीमा पर्नुभयो । पटक पटक गिरफ्तार हुँदा पनि रूपचन्द्र जनमुखी राजनीतिमा पूर्ण प्रतिबद्ध हुनु हुन्थ्यो । वि.सं.१९९० पुस २६ गते मकवानपुरको दामन घर्तीखोलामा जन्मिनु भएका विष्टको निधन २०५६ साल असार ७ गते काठमाडौमा भएको थियो ।