हेटाैंडा – राष्ट्रिय टिमबाट खेलिसकेका स्टार खेलाडीले भरिएको मनाङ मर्स्याङ्दी क्लवलाई पराजित गर्दै विभागिय टोली नेपाल पुलिस क्लव हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । अन्जन बिष्ट, विमल घर्ती मगर, सुजल श्रेष्ठ, दिनेश राजवंशी, विशाल श्रेष्ठ लगायतका स्टार खेलाडी लिएर मैदान प्रवेश गरेको मनाङलाई पुलिसले शुन्यका बिरुद्ध एक गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

खेलको ३४ औं मिनेटमा भरत शाहले गरेको गोल नै पुलिसको जितमा निर्णायक बन्यो । मनाङका गोलरक्षक विशाल श्रेष्ठले फालेको बललाई नियन्त्रणमा लिँदै शाहले गरेको प्रहार गोलमा परिणत भएको थियो । ४१ औं मिनेटमा मनाङले बराबरी गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न सकेन । पुलिसका अजित भण्डारीले विमल घर्ती मगरलाई डीबक्स क्षेत्रमा लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । अन्जन बिष्टको पेनाल्टी प्रहारलाई पुलिसका गोलरक्षक सत्रुघन चौधरीले बचाएका थिए । त्यसपछि मनाङले लगातार आक्रमण गरेपनि पुलिसका गोलरक्षक चौधरी बाधक बनेका थिए । उनले मनाङको करिब एक दर्जन प्रहारलाई निष्तेज बनाइदिएका थिए । खेलको म्यान अफ द म्याच उनै गोलरक्षक चौधरी भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

जारी प्रतियोगितामा बुधबार मकवानपुरको विजय यूथ नव जनजागृति क्लव सिमराबीच खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करण यही वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ क्लवको सहभागिता छ ।

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीले सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको स्वीकार गरे । ‘नेश्नल टिमबाट फालिएका खेलाडीहरुले ‘फ्रस्टेसन’ का कारण ट्रेनिङ नगरेकोले राम्रो खेल्न सकेनन् । पुलिसका गोलरक्षकले निकै राम्रो खेल्यो,’ तामाङले भने, ‘विपक्षीको रणनीति सफल भयो । यस्तै पुलिसका प्रशिक्षक अनन्त थापाले अधिकांश राष्ट्रिय टिमबाट खेलिसकेको टिमलाई जित्दा हौसला बढेको बताए । ‘हामी जितका लागि आएका हौं । हाम्रा खेलाडीले निकै मेहेनत गरेर खेले,’ थापाले भने, ‘रेफ्रीको निर्णय चित्तबुझ्दो भएन ।’

मनाङ मर्स्याङ्दीसंगको खेलमा नेपाल पुलिस क्लवको प्रशिक्षक र खेलाडी गरी तीनजनाले रातो कार्ड पाएका छन् । प्रशिक्षक अनन्त थापा तथा खेलाडी हेम तामाङ र हेमन्त श्रेष्ठले रातो कार्ड पाएका हुन् । श्रेष्ठले मैदान प्रवेश नगर्दै रातो कार्ड पाएका हुन् । मैदान छिनै ‘वार्मअप’ गरिरहेका बेला ‘अफसाइड’को बिषयलाई लिएर निर्णायकसंग असन्तुष्टि जनाएपछि कार्ड दिइएको थियो । पहेंलो कार्ड पाएका उनले आफ्नो असन्तुष्टिलाई कायम राखेपछि रातो कार्ड दिइएको थियो । यस्तै तामाङले अन्जन बिष्टलाई हात हालेपछि रेफ्रीले रातो कार्ड दिएका हुन् भने प्रशिक्षक थापाले तोकिएको स्थानबाट पटक पटक बाहिर गएपछि रातो कार्ड पाएका हुन् ।