प्रहरीले स्रोत नखुलेको रु तीन करोड ८९ लाख १३ हजार नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुभारु कम्पनीको कारमा दुई प्लास्टिकको बोरामा रकम लुकाएर ल्याउँदै गरेको अवस्थामा आज उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–८ का ४४ वर्षीय फूलबहादुर गुरुङ तथा चिनियाँ नागरिक ५० वर्षीय आउङ जाइकिङ, ४९ वर्षीय जान तो, ३१ वर्षीय मेङ युङ सुङ र २६ वर्षीय माउजैन हउ छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले स्रोत नखुलेको रकम बोकेर आउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरूबाट प्रहरीले रु एक हजार दरको ३६ हजार ४१३ थान, रु ५०० दरको पाँच हजार एक थान, रु १०० दरको दुई थान र रु २० दरको एक थान रकम बरामद गरेको हो । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाएको प्रवक्ता मैनालीले बताउनुभयो ।