मकवानपुर – स्थानीय तह निर्वाचन २०७९ अन्तरगत हिजो सम्पन्न मतदान अन्तरगत मकवानपुरको दशवटै स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्लाका १० वटै स्थानीय तहका सदसमुकाममा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिकाको सिद्धार्थ माध्यमिक विद्यालयको भवनमा हेटौँडा–१ नम्बर वडाबाट मतगणना सुरु गरिएको छ । यसपछि हेटौँडा–२, १८ र १९ को मतगणना तत्काल सुरु गर्ने तयारी रहेको जनाईएको छ । हेटौंडामा कुल १ लाख ४ हजार ४ सय ७३ मतदाता मध्ये ७३ हजार ४ सय १४ मत खसेको थियो ।
यस्तै जिल्लाको थाहा नगरपालिकामा वडा नम्बर १ को मतगणना जारी छ । ७ सय मत गन्दा गठबन्धनका उम्मेदवार बिष्णु बहादुर बिष्ट ३ सय मतले अगाडी रहनु भएको निर्वाचन अधिकृत तीर्थराज भटराइले बताउनुभयो । यता नेकपा एमालेका उम्मेदवार अचुतम प्रसाद ढकाल भने ३ सय मतले पछाडी रहनु भएको छ । थाहा–१ मा २ हजार ६४५ कुल मतदाता रहेको भएपनि २ हजार १ सय ७ मत मात्रै खसको थियो । नगरमा ३२ हजार ३०७ मतदाता रहेको भएपनि जम्मा २३ हजार ५६ मत खसेको थियो । थाहा नगरमा कुल ३२ हजार ३०७ मतदाता मध्ये २३ हजार ५६ जनाले मतदान गरेका छन् ।
यस्तै मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । जारी मतगणनामा गठबन्धनले सुरुवाती अग्रता लिएको छ । शनिबार बिहानबाट गाउँपालिकाको वडा नम्बर ८ को १ सय मत गणना गर्दा नेपाली कांग्रेस–नेकपा माओवादीको गठबन्धनले ५६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ३८ मत प्राप्त गरेको छ ।
यस्तै भीमफेदी गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । पहिलो चरणमा ८०० मत गणनाहुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानले प्रारम्भिक मतगणनामा ४ सय ५ मत प्राप्त गर्नुभएको छ । भने, नेकपा एमालेका हिदम लामाले ३१५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार सञ्जीव श्रेष्ठले ४११ मत ल्याएउँदा एमालेका पार्वती रानाले ३१५ मत प्राप्त गर्नुभएको छ । हाल वडा नम्बर १ र २ को मतगणना भइरहेको जनाईएको छ । मकवानपुर जिल्लामा करिब ७१ प्रतिशत मत खसेको छ ।