मकवानपुर । नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य एवं आसन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार विदुर हुमागाईँले मकवानपुरगढीमा विकास गर्ने पार्टी भनेकै एमाले भन्ने भावना स्थापित भएको बताएका छन् । एमालेले जनताका आधारभूत आवश्यकता पूरा गर्न र गाउँपालिकाको सबै खाले विकासका निम्ति काम गर्दै आएको उनले बताए ।
नेपाल खेलकुद महासंघ मकवानपुरगढी गाउँपालिका कमिटीद्वारा आयोजित प्रथम भेलामा बोल्दै उनले मकवानपुरगढीमा पाँच वर्षभित्र उत्पादनका क्षेत्रमा भएका कामको मुल्यांकन गर्दै जनताले एमालेमा मत दिने विश्वास गरे । पाँच वर्षअघिको गाउँको अवस्था र हालको अवस्थाको वास्तिवक मुल्यांकन गरेपछि आफूलाई काम गरेको सन्तुष्टि मिलेको उनले बताए । तर, पर्याप्त विकासका लागि पाँच वर्षको अवधि अपुग भएको भन्दै उनले गाउँ बासीको मुहारमा खुशी ल्याउन थप काम गर्नुपर्ने देखिएकोले पुनः अध्यक्षमा उम्मेदवारी दिएको बताए ।
खेलकुद महासंघका केन्द्रीय उपमहासचिव धर्म लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, एमाले प्रदेश कमिटी सदस्य नवराज तिमल्सिना, पार्टी जिल्ला सचिवालय सदस्य तथा मकवानपुरगढी गाउँपालिका सह–इञ्चार्ज मेम्बर लो, जिल्ला सल्लाहकार समिति सदस्यहरु अर्जुन सापकोटा, कृष्ण थिङ, गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार सन्तु थिङ, एमाले गाउँकमिटीका उपसचिव चन्द्र योञ्जन, पार्टीका वडा कमिटी अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।