काठमाण्डौं- ३ नम्बर प्रदेश सरकारले नेपाल भ्रमण वर्ष, २०२० लाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न पूर्वतयारी भेलाको आयोजना गरेको छ । ३ नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मंगलबार काठमान्डौंमा भेलाको आयोजना गरेको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीहरु सहभागी हुने बताउनु भएको छ । भेलामा मन्त्री भट्टराईले अगामी सन २०२० को जनवरी पहिलो साताभित्र भ्रमण वर्षको उद्घाटनको कार्यक्रम हुने जानकारी समेत दिनुभयो । भ्रमण वर्षलाई आधार वर्ष बनाएर एक दशकसम्म भ्रमण वर्ष मनाउने समेत मन्त्री भट्टराईले बताउनुभयो ।

कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भ्रमण वर्षलाई सफल बनाउनका लागि पर्यटनमैत्री वातावरण तयार गर्न प्रदेश सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले मुलुकको आर्थिक समृद्धिलाई सार्थक तुल्याउने आधार पर्यटन, कृषि, ऊर्जालगायत भएकाले यसको प्रभावकारी प्रवद्र्धनमा जोड दिनुभयो । भ्रमण वर्षलाई सफल बनाउन तथा समग्र पर्यटनमैत्री वातावरण तयार गर्न प्रदेश सरकार क्रियाशील रहेको भन्दै पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सक्रिय ढङ्गले लाग्न मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले भ्रमण वर्षलाई सफल बनाउन सबै क्षेत्रको सकारात्मक भूमिकाको अपेक्षा गर्नुभयो । पर्यटन वर्ष सफल बनाउन सबै दत्तचित्त भएर लाग्नु पर्ने धारणा समेत व्यक्त गर्नुभयो । नेपाल भ्रमण वर्ष अभियानलाई प्रभावकारी तुल्याउन तथा उक्त अवधिमा गरिने कार्यक्रमको तयारीस्वरूप प्रदेश ३ को पर्यटन मन्त्रालयले आज ललितिपुरमा भ्रमण वर्षको पूर्व तयारी भेला गरेको हो ।

कार्यक्रममा प्रदेश ३ को विविध पर्यटकीय गन्तव्यलाई समेटेर तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । भ्रमण वर्षभरि प्रदेश सरकारको १४ घरेलु उत्पादनका कोसेली घर, १० पर्यटकीय गन्तव्य र १० ‘हिल स्टेसन’ निर्माण गरिनेलगायत कार्यक्रम छ । भ्रमण वर्षका लागि एक अर्ब ६२ करोड बजेट विनियोजन भई विभिन्न चरणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति ३ नम्बर प्रदेश महासंघका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायत प्रदेशका सबै स्थानीय तहका प्रमुखहरुको सहभागिता रहेको थियो ।