मकवानपुर- जिल्ला समन्वय समिति मकवानपुरले हरेक महिना आयोजना गर्ने स्थानीय तह समन्वय बैठक प्रभावकारी बन्दै गएको छ । जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा बस्ने बैठकमा जिल्लामा रहेका हरेक स्थानीय तहका प्रमुख, उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतहरु सहभागि हुने बैठकमा आफुले गरेका काम तथा उत्पन्न विभिन्न समस्याका बारेमा छलफल गरेर निकाश निकाल्ने गरिन्छ । स्थानीय तहहरुले गरेका राम्रा कामहरुको बारेमा अन्य स्थानीय तहलाई जानकारी दिन तथा आई परेका विभिन्न समस्याहरु छलफल मार्फत समाधान खोज्न पनि समन्वय बैठक प्रभावकारी देखिएको हो ।

मकवानपुरमा रहेका १० वटा स्थानीय तहहरुले बैठकमा सक्रिय सहभागिता समेत जनाउछन् । हरेक महिनाको २५ गते बस्ने उक्त बैठकलाई अहिले अन्य निकायले पनि प्रयोग गर्न थालेका छन । मकवानपुर जिल्लाका केहि स्थानीय तहहरु भौगोलिक हिसाबले विकट समेत भएकाले विभिन्न सरकारी तथा गैर सरकारी निकायले यसै बैठकलाई उपयोग गर्ने गरेका छन् । सबै स्थानीय तहका प्रमुख, उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतहरु एकै स्थानमा भेटिने हुँदा पनि बैठक प्रभावकारी नै देखिएको हो ।

यसै सन्दर्भमा कार्तिक २५ गते सोमबार पनि स्थानीय तह समन्वय बैठक बैठक बसेको थियो । बैठकमा समसामयिक विषय, विगतमा भएका निर्णय कार्यन्वयन लगायत विभिन्न बिषयमा छलफल भएको छ । सोमबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा पनि विभिन्न विकास निमार्ण देखि सामाजिक क्षेत्रका विषमा छलफल गरिएको छ ।
बिगतमा भएका निर्णय र कार्यान्वयनको समिक्षा
सोमबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा विगतमा भएका निर्णयको प्रगति र समिक्षाका विषयमा छलफल भएको थियो । बैठकमा विगतमा भएका निर्णयहरु जस्तैः जिल्ला समन्वय समितिकै सक्रियतामा मकवानपुर जिल्लालाई सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा गरिएको छ । त्यसको प्रभावकारीताका लागि स्थानीय तहमा के कस्ता रणनितिहरु अपनाईएको छ तथा के कस्ता समस्याहरु छन भन्ने विषयमा छलफल भएको थियो । साथै बाल मैत्री स्थानीय तह घोषणा गर्ने विषयमा स्थानीय तहहरुले के कस्ता काम अगाडी बढाएका छन् । सामाजिक सुधार व्यवहारका बारेमा स्थानीय तहहमा के कस्ता कानुन निमार्ण भएका छन र कतिको प्रभावकारी भएको छ भन्ने विषयमा छलफल भएको थियो । जिल्ला समिक्षा बैठकमा यी विषयका बारेमा स्थानीय तहहरुले पहिलेनै प्रतिबद्धता जनाएकाले यस विषयमा के हुँदै छ भन्ने बारेमा छलफल भएको हो ।
त्यस्तै मकवानपुरका स्थानीय तहहरुको प्रमुख आम्दानीको स्रोत ढुंगा, गीट्टी, बालुवाका विषयमा समेत बैठकमा छलफल भएको थियो । जिल्ला समन्वय समितिले स्थानीय तहहरुलाइृ नै यसको व्यवस्थापनको जिम्मा दिएकाले काम के कसरी अगाडी बढेको छ भन्ने बारेमा बैठकमा छलफल भएको थियो । बैठकमा ढुंगा, गीट्टी, बालुवा अनुगमन समितिको बैठकको निर्णय कार्यान्वयनको विषयसहित स्थानीय तहहरुलाई ठेक्का सम्झौता गर्दा ध्यान दिन, समयमै ठेक्का सम्झौता गर्न, वातावरणिय प्रभाव मुल्यांकन समयमै गर्न सुझाव समेत दिईएको छ । साथै मकवानपुरमा नयाँ क्रसरहरु खुल्ने क्रम बढेको भन्दै यसका विषयमा स्थानीयतहहरुले ध्यान दिनुपर्ने बताईएको छ । विषेश गरि आरक्षण क्षेत्र र चुरे क्षेत्रमा नयाँ क्रसरहरु खोल्न नदिन स्थानीय तहहरुलाई सुझाव दिईएको छ । साथै प्रदेश सरकारले ल्याएको नयाँ वन ऐनबा बारेमा समेत बैठकमा जानकारी गराईएको थियो ।
त्यस्तै बैठकमा भ्रमण वर्ष २०२० लाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल भएको छ । बैठकमा भ्रमण वर्षलाइृ प्रभावकारी बनाउन स्थानीय तहहरुले आफनो क्षेत्रमा पर्ने पर्यटकिय स्थलहरुको सरसफाइृ गर्ने, होडिंबोर्ड व्यानरलगायत राख्ने विषयमा छलफल भउको छ । त्यस्तै जिससले संचालन गर्ने क्षमता विकास तालिमका बारेमा सुझाव लिनुका साथै हेटौंडामा सञ्चालित बालसुधार गृहमा सहयोग गर्ने, जिससमा रहेको मौजदात कोषको रकम खर्च गर्ने, शैक्षिक सहयोग कोष, १६ दिने अभियान संचालनलगायतका विषयमा छलफल भएको थियो । त्यस्तै जिल्लामा संचालित विभिन्न पुर्वाधारको परिक्षणकालागि जिल्ला समन्वय समितिमा पुर्वाधार परक्षण प्रयोगशाला सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।
बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडाशैनी, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रहरी उपरिक्षक मुकेशश कुमार सिंह, सशस्त्र प्रहरी उपरिक्षक विकास घिमिरेलगायत मकवानपुरका १० वटै स्थानीयतहका प्रमुख उपप्रमु तथा प्रमुख प्रशासकिय अधिकृतको सहभागिता थियो ।