काठमाण्डौ – महाप्रसाद अधिकारीलाई गभर्नरबाट हटाउने सरकारको निर्णयविरुद्ध राष्ट्र बैंकका कर्मचारीले आन्दोलन थालेका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घले गभर्नर निलम्बनको विरुद्धमा केन्द्रीय कार्यालय बालुवाटारमा कालो ब्यानर टाँसेर आज आइतवार विरोध थालेका हुन् ।
सरकारले केन्द्रीय बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको, गभर्नर अधिकारीमाथि निराधार आरोप लगाएको लगायतका विषय आन्दोलनकारी कर्मचारीले उठाएका छन् । विरोध सभामा राष्ट्र बैंक कर्मचारी सङ्घका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले सरकारले वित्तीय प्रणालीको दुरुपयोग गरेर राष्ट्र बैंकमाथि आक्रमण गरेकोले विरोध गर्नुपरेको बताउनुभयो ।
यसअघिका गभर्नर हटाउँदा पनि राष्ट्र बैंक कर्मचारी युनियनले विरोध गरेको बताउँदै तिम्सिनाले महाप्रसाद अधिकारीलाई गभर्नरबाट हटाउने निर्णय तत्कालै फिर्ता लिन माग गर्नुभयो । सरकारका निर्णय पालना नगरेकाे लगायतका आराेप लगाउँदै गएको चैत २५ गतेको मन्त्रिपरिषद्को बैठकले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर आराेपमाथि छानबिन गर्न समिति गठन गरेकाे थियाे ।