हेटौंडा – बागमती प्रदेशमा १५ महिना देखि १५ वर्ष सम्मका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका छन् । चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत् बागमती प्रदेशका १५ महिनादेखि १५ बर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार पत्रकार सम्मेलन गरी खोप अभियानका लागि स्वास्थ्यकर्मी र खोप सम्बन्धित खोप केन्द्रमा पुगिसकेको जानकारी दिएको छ । निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठका अनुसार वाग्मती प्रदेशका १३ जिल्लामा खोप अभियानका लागि ६ हजार ५ सय २० खोप केन्द्र निर्धारण गरेको छ । खोप केन्द्रमा ८ हजार ८ सय ५८ जना खोपकर्मी परिचालन हुनेछन् । खोपकर्मीहरुलाई सहयोगका लागि १७ हजार बढी स्वयम्सेवक परिचालन हुने निर्देशक श्रेष्ठले जानकारी दिए ।
८० प्रतिशत खोप केन्द्र विद्यालयमा र २० प्रतिशत खोप केन्द्र स्वास्थ्य संस्थामा रहेको निर्देशनालयका खोप फोकल पर्सन पदम कैनीले जानकारी दिए । खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकाको पहिचानका लागि टिम परिचालन गरी उनीहरुलाई स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको उनले बताए । खोप अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न समुदाय तहमा छलफल, जनप्रतिनिधिहरुमार्फत जानकारी, विद्यालयहरुमा तथ्यांक संकलन लगायतका काम गरिएको र खोप संचालन गर्ने स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण जस्ता काम सम्पन्न भएकाले सबैको सहयोगमा खोप अभियान प्रभावकारी ढंगले सम्पन्न हुने निर्देशनालयका चिकित्सा एवं रोग नियन्त्रण शाखाका प्रमुख नरेन्द्र झाको भनाई छ ।