नेपाल कम्युनिष्ट पार्टी, नेकपा सचिवालयको आज बसेको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठन गर्नुभएको पार्टीको समस्या समाधान सम्बन्धी कार्यदललाई अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वयले कार्यदलका बारेमा जानकारी गराउनुभएको थियो ।

सचिवालय बैठकले कार्यदललाई बधाईं ज्ञापन गरेको छ । कार्यदलले अध्यक्षद्वयसमक्ष आफ्नो प्रतिबेदन पेश गर्ने र त्यसपछि सचिवालय बैठकमा प्रस्तुत गरिने छ । गएको असार १० गते सुरु भएको नेकपा स्थायी समिति बैठक पार्टीको आन्तरिक विवादका कारण पटकपटक स्थगित हुँदै आएको र समस्या समाधानका सन्दर्भमा अध्यक्षद्वयबीच सहमति हुन नसकिरहँदा साउन ३० गते अध्यक्षद्वयले लामो छलफल पछि कार्यदल गठन गर्नुभएको थियो । पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा स्थायी समिति सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा र पम्फा भुुषाल रहनुभएको छ ।