हेटौंडा– मकवानपुर जिल्ला सहकारी संघले निषेधाज्ञा अवधिभर सहकारी सस्था संचालन नगर्न अनुरोध गरेकाे छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्रमा भाद्र ९ गते सम्म निषेधाज्ञा जारी गरेकाे उक्त अवधिसम्म निषेधाज्ञा भएका क्षेत्रमा रहेका सम्पुर्ण सहकारी लगायत बित्तीय संस्थाहरु संचालन नगर्न अनुरोध गरेको हाे ।

मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बिज्ञप्ति जारि गरेर अत्यावश्यक काममा सुरक्षाको सम्पुर्ण उपाय अबलम्बन गरि सदस्यहरुलाइ सेवा प्रदान गर्न समेत अनुरोध गर्नुभएकाे छ । कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा सहकारी संस्था लगायतको बित्तीय सस्था बढी जोखिममा रहेकोले सुरक्षित रहन समेत केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष र राष्ट्रिय सहकारी महासंघका संचालक समेत रहनुभएका देवकोटाले आग्रह गर्नुभएकाे छ ।

यसैबिच थाहा नगारपालिकामा रहेका बित्तीय संस्थाहरु सुरक्षाका विधि अपनाइ बिहान १० बजे देखि दिउँसो २ बजे सम्म मात्र सञ्चालन गरिने भएको छ । आइतबार थाहा नगरपालिकामा भएको बैठकले सर्वसाधारणमा कोरोना भाइरसको खतरा बढेको कारण बित्तीय संस्थाहरु बढी जोखिममा रहेकोले कार्य समय कम गरिएको थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले बताउनुभयाे । साथै बित्तीय सेवा लिन जाँदा सर्वसाधारणले सुरक्षाको विधि पुर्ण रुपमा पालना गर्न समेत प्रमुख घिमिरेले आग्रह गर्नुभएकाे छ ।